साफ महिला यु–१५ : नेपालको खराब शुरुवात

काठमाडौं (खेलदैनिक) । बुधबारदेखि भुटानमा शुरु साफ यु–१५ च्याम्पियनसिपतर्फ नेपाली महिला फुटबल टोलीले खराब शुरुवात गरेको छ । उद्घाटन खेलमै साविक विजेता भारतसँग ४–१ ले पराजित भएपछि नेपालले प्रतियोगितामा खराब शुरुवात गर्न बाध्य भएको हो ।

खेल शुरु भएको सातौं मिनटमै भारतका लागि सुमती कुमारीले गोल गरेपछि नेपाल शुरुवातबाटै दबाबमा पर्न पुगेको थियो । त्यसपछि ३८औं र ५६औं मिनटमा लिन्डा कोमले लगातार दुई गोल गर्दै त्यो अग्रता तेब्बर पारीन् । त्यस्तै उता ६२औं मिनटमा मनमाया दमैले नेपालका लागि गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि त्यो सफल भएन ।

खेलको ६७औं प्रियंका सुजिशले भारतका लागि चौथो गोल गर्दै थिम्पु स्थित चाङलिमिथाङ स्टेडियममा डिफेन्डिङ च्याम्पियनको शानदार जित सुनिश्चित गरेकी थिईन् ।

प्रतियोगिता अन्तरगत नेपालले आफ्नो दोस्रो खेल शुक्रबार बंगलादेशसँग खेल्नेछ । प्रतियोगितामा सार्क राष्ट्रका कुल ४ टोलीहरुको सहभागिता रहेको छ । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...