फर्साटिकरलाई चाँदनी कपको उपाधि

बुटवल (खेलदैनिक) । शुरुवातबाटै दावेदार मानिएको फर्साटिकर युवा क्लब, फर्साटिकरले शानदार जितका साथ रुपन्देहीमा सम्पन्न साँतौ चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कञ्चन गाउँपालिका–१ दानापुर स्थित खेलमैदानमा आइतबार सम्पन्न फाइनल खेलमा फर्साटिकरले साविक विजेता फूलबारी गाईजलाई ४–१ ले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । फर्साटिकरको जितमा फोडे फोफना र अमिर श्रेष्ठले २–२ गोल गरे । उता पराजित फूलबारीका लागि बिशाल शाहीले एक मात्र सान्त्वना गोल फर्काए ।

बिजेता बनेको फर्साटिकरले उपाधिसहित नगद १ लाख २० हजार हात पार्यो भने उपविजेता फूलबारीले ६० हजारमा चित्त बुझायो । त्यस्तै प्र्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फर्साटिकर कै अमिर श्रेष्ठ घोषित भए । उनले पुरस्कार वापत ट्रफी सहित नगद ५ हजार प्राप्त गरे ।

त्यस्तै अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक फर्साटिकर कै टेकेन्द्र थापा घोषित भए भने उत्कृष्ट डिफेन्डर फूलबारीका सुदन परियार घोषित भए । उत्कृष्ट मिडफिल्डर पनि फूलबारी कै कमल गुरुङ चुनिए भने सर्वाधिक गोलकर्ता जनज्योति क्लबका कोनो र विश्व शान्ति युवा क्लबका विश्वास श्रेष्ठ घोषित भए ।

व्यक्तिगत विधातर्फका सबैले जनही ५–५ हजार हात पारे । यद्यपि सर्वाधिक गोलकर्ताको पुरस्कार रकम भने दुई खेलाडीलाई २५–२५०० हस्तान्तरण गरिएको थियो ।

चाँदनी युवा क्लब, कञ्चन–१, दानापुरको आयोजनामा गत असोज ४ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल १६ टोलीहरुको सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...