मकवानपुर जिल्ला लिग : हटिया स्पोर्टस् र विजय यूथ क्वाटरफाइनल

हेटौडा (खेलदैनिक) । यहाँ जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलबाट हटिया स्पोर्टस् एकेडेमी र विजय यूथ क्लव क्वाटरफाइनल प्रवेश गरेका छन् ।

मंगलबार बिहान भएको खेलमा सक्षम युवा क्लव नेवारपानीलाई टाइब्रेकरमा हराउँदै हटियाले क्वाटरफाइलनमा स्थान बनाएको हो । यसअघि निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको थियो । टाइब्रेकरमा हटियाले सक्षमलाई ५–४ गोल अन्तरले हराउन सफल भएको हो ।

खेलमा सक्षमले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । आठौं मिनेटमा बादल थिङको गोलमार्फत सक्षमले अग्रता लिएको थियो । हटियाका आयुर घलानले ३४औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । टाइब्रेकरमा सक्षमका साजन वाइबा गोल गर्न चुक्दा खेल हटियाको पक्षमा गएको हो । खेलको म्यान अफ दी म्याच हटियाका आयुर घलान भए ।

त्यस्तै अर्को खेलमा हाँडीखोलाले सुरुवाती अग्रता जोगाउन नसक्दा हार व्यहोरेको छ । १५औं मिनेटमा सुलभ बुढाथोकीले गोल गर्दै हाँडीखोलालाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा विजय यूथका सुरज बिष्टले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । हाँडीखोलाका सुमन राईले ४१औं मिनेटमा गोल गरेर पूनः अग्रता दिलाएका थिए ।

यद्यपि ४८औं मिनेटमा विजय यूथका ध्रुब श्रेष्ठले गोल गर्दै रोमाञ्चक बराबरीमा पुर्याएका थिए । टाइब्रेकरमा हाँडीखोलाका सुजन राईको प्रहार विजय यूथका गोलरक्षक अनिष देउलाले बचाएपछि विजय यूथले क्वाटफाइनलमा स्थान बनाएको हो । खेलमा विजय यूथका सुरज बिष्ट म्यान अफ दी म्याच भए ।

त्यसैगरी न्यू डाँफे यूथ क्लव र मदन भण्डारी स्पोर्टस् एकेडेमीबीचको खेल रात परेपछि स्थगित भएको छ । १५ मिनेट बाँकी रहँदाको अवस्थामा डाँफेले खेलमा २–० को अग्रता लिएको छ । बाँकी खेल बुधबार बिहान खेलाइने आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ ।

जिल्ला लिगमा मकवानपुरका ३३ क्लवको सहभागिता रहेको थियो । असोज ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...