कात्तिकमा राष्ट्रिय माझी गोल्डकप हुने

हेटौंडा (खेलदैनिक) । अति सिमान्तकृत जातिको रुपमा रहेको माझी समुदायको पहिचानलाई देशव्यापी बनाउन कात्तिक महिनामा मकवानपुर जिल्लामा राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपाल माझी उत्थान संघ जिल्ला कार्य समिति मकवानपुरको आयोजनामा देशभरका विभिन्न १६ जिल्लाका माझी समुदायहरु सम्मिलित टोलीबीच फुटबल प्रतियोगिता हुन लागेको हो । माझी समुदायका खेलाडीमात्र सहभागी हुने प्रतियोगिता कात्तिक १ गतेदेखि १० गतेसम्म मकवानपुरको बकैया गाउँपालिका–४, जुरेलीमा आयोजना हुने संघकी सल्लाहकार तथा अगुवा लक्ष्मी माझीले जानकारी दिइन् ।

आयोजकद्वारा विहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगितामा करिब २१ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताको विजेतालाई नगद एकलाख, उपविजेतालाई नगद ५० हजार तथा विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद पाँच–पाँच हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजक अध्यक्ष आशिष कुशवार माझीका अनुसार प्रतियोगितालाई व्यवस्थितरुपमा अगाडि बढाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

हाल प्रचारप्रसारसँगै सहभागी हुन माझी समुदायको बाक्लो बसोबास रहेको देशभरका विभिन्न जिल्लालाई पत्राचार गरिएको र प्रतियोगिताका लागि प्रायोजक तथा सहप्रायोजक जुटाउन काम भइरहेको जानकारी दिए । प्रतियोगिता संयोजक श्यामसुन्दर माझीले पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुने टोलीलाई अझै बढाउने र माझी समुदायबीच भातृत्वको भावना विकास गराउन प्रतियोगिताले टुवा पुग्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...