सहज जितका साथ फर्साटिकर सेमिफाइनलमा

तिलोत्तमा (खेलदैनिक) । सहज जितका साथ फर्साटिकर युवा क्लब रुपन्देहीमा जारी १९औं लिस्नु कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा फर्साटिकरले युएनबिसी एकेडेमी, दाङलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । फर्साटिकरको जितमा अफ्रिकी खेलाडी फोडे फोफोनाले दुई गोल गरे । त्यस्तै थप एक गोल भने सुरज हमालले गरे ।

खेलमा दुई गोल गरेका फर्साटिकरका फोफोना म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत भदौ २७ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल आयोजक लिस्नु युवा क्लब, कोटिहवा र फुलबारी गाईज, बुटवलबीच हुने आयोजकले जनाएको छ ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ प्राप्त गर्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासीका गरी कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...