नेपाली यु–१८ टोलीको फराकिलो जित, मनिष डाँगीको दुई गोल

पोखरा (खेलदैनिक) । उदयीमान खेलाडी मनिष डाँगी र सचु गुरुङले दुई–दुई गोल गरेपछि पोखरामा सम्पन्न मैत्रीपूर्ण फुटबल म्याचमा नेपाल यु–१८ टोलीले कास्की जिल्ला लिग च्याम्पियन आदर्श युवा क्लबलाई १०–१ को भारी अन्तरले हराएको छ ।

यहि सेप्टेम्बर २० तारीखदेखि सशस्त्र प्रहरीको हल्चोक मैदानमा हुन गईरहेको साफ यु–१८ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली यु–१८ टोलीले हाल पोखरामा अभ्यास क्याम्प सञ्चालन गरिरहेको छ ।

उता नेपाली टोलीको फराकिलो जितमा खेलको सातौं मिनटमै शिशिर लेखीले गोलको खाता खोलेका थिए । लगतै ११औं मिनटमा मनिष डाँगीले त्यो अग्रता दोब्बर पारेका थिए । खेलमा एकपक्षीय नतिजा निकालेको नेपाली युवा टोलीका लागि १४औं मिनटमै नितिन थापाले तेस्रो गोल गरेका थिए ।

त्यस्तै २७औं मिनटमा रोशन रानाले चौथो गोल गरे भने ३५औं मिनटमा पदम भट्टराईले पाँचौं गोल गरे । पहिलो हाफकै ४०औं मिनटमा मनिष डाँगीले व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि छैठौं गोल गरे ।

त्यसैगरी दोस्रो हाफतर्फ ७०औं मिनटमा दर्शन गुरुङले नेपाली टोलीका लागि सातौं गोल गरे भने ७७ र ८०औ मिनटमा सचु गुरुङले थप दुई गोल गरे । नेपाली टोलीका लागि अन्तिम गोल ८५औं मिनटमा कैलाश लामिछानेले गरे ।

उता पराजित टोलीले ७८औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काएको थियो । खबरअनुसार त्यो मैत्रीपुर्ण फुटबल म्याच युवा टोलीको अनुभव र थप तयारीका लागि खेलाइएको बताइएको छ । उक्त म्याचको उद्घाटन एन्फाका उपाध्यक्ष कृष्ण थापाले एक कार्यक्रमका बीच गरेका थिए । सो अवसरमा सहारा क्लब पोखराका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...