मकवानपुर जिल्ला लिग : रियल स्टार र प्रगतिशील विजयी

हेटौंडा (खेलदैनिक) । यहाँ जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा बुधबार दुईवटा खेल सम्पन्न भएका छन् । वर्षाका कारण निर्धारित एक खेल भने स्थगित भएको छ । उक्त खेल बिहीबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा रियल स्टार क्लब र प्रगतिशील युवा क्लब विजयी भएका छन् । बिहान भएको खेलमा रियल स्टार क्लबले सुर्यकालिका युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । रियल स्टार क्लबका लागि सुरज पाख्रिन र सुमन थापा मगरले १–१ गोल गरे । खेलको म्यान अफ दि म्याच सुमन थापामगर घोषित भए ।

त्यस्तै दोस्रो खेलमा प्रगतिशील युवा क्लबले माहाविर क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्यो । प्रगतिशील युवा क्लवको तर्फबाट अजित सापकोटाले ह्याट्रिक गरे भने माहाविर क्लबका तर्फबाट सुरेश तिवारीले १ गोल फर्काए । खेलको म्यान अफ दि म्याच ह्याट्रिकर्ता अजित सापकोटा घोषित भए ।

त्यसैगरी बुधबारको तेस्रो खेल भने बर्षाका कारण स्थगित भएको थियो । चाईनाक्वाटर फुटबल क्लब र पदमपोखरी युवा क्लब बीचको खेल वर्षाका कारण स्थगित गरिएको हो । उक्त खेल बिहीबार हुने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

गत बुधबारदेखि सुरु भएको प्रतियोगिता आगामी असोज ११ गतेसम्म चल्नेछ । लिगको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...