उज्वेकिस्तानसँग बदला लिने नेपाललाई अवसर

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज किर्गिस्तानमा जारी चार देशीय नडेदा कप महिला च्याम्पियनसिपको फाइनलमा दावेदार मानिएको उज्बेकिस्तानको सामना गर्दैछ ।

आयोजक किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान र नेपालसहित चार देश सम्मिलित प्रतियोगिताका खेलहरु लिगका आधारमा खेलाइएका थिए । लिग चरणको खेल पश्चात् उज्बेकिस्तान समूह विजेता बनेको थियो भने नेपाल उपविजेता बनेको थियो ।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले हराएको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । यद्यपि अन्तिम खेलमा ताजिकिस्तानलाई २–० ले हराउँदै फाइनलमा फेरि उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो ।

आज हुने नेपाल र उज्बेकिस्तानबीचको उपाधि भिडन्त खेल नेपाली समयअनुसार अपरान्ह ३:४५ बजेदेखि शुरु हुँदैछ । स्मरण रहोस, नेपाली महिला फुटबल टोली दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा हाल किर्गिस्तान भ्रमणमा रहेको छ ।

लिग चरणमा उज्वेकिस्तानसँग बेहोरेको हारको बदला लिन सफल होला त नेपाल? नेपाली चेलीहरुलाई जितको शुभकामना दिनुहोस् ।


प्रतिक्रिया दिनुहोस

Loading...