अष्ट्रेलियासँग भिड्नु अघि नेपालले सिड्नीमा साता दिन लामो क्याम्प राख्ने

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको एसियाली छनौट खेलतर्फ नेपालले आफ्नो तेस्रो खेल अक्टुबर १० तारीखका दिन क्यानबेरा स्थित जियो स्टेडियममा खेल्ने तय भईसकेको छ ।

यद्यपि गोलनेपालका अनुसार नेपाली फुटबल टोली क्यानबेरा जानु अघि अष्ट्रेलियाको अर्को चर्चित शहर सिड्नीमा एक साता लामो अभ्यास क्याम्प सञ्चालन गर्ने भएको छ । उक्त साता दिनको क्याम्पका लागि अष्ट्रेलियामा रहेका नेपाली फुटबल क्लब तथा खेलाडीहरुको व्यवस्थापन र संयोजन गरिरहेको एन्फा अष्ट्रेलियाले आवश्यक सहयोग गर्ने बताइएको छ ।

एन्फा अष्ट्रेलियाका अध्यक्ष बिजेन बताजुका अनुसार त्यो अभ्यास क्याम्पका लागि आवश्यक तयारी शुरु गरिसकेको बताएका छन् । बताजु भन्छन्, “हामीले ३०–४० हजार अष्ट्रेलियन डलरको अनुमानित बजेट बिनियोजन गरिसकेका छौं । अष्ट्रेलियामा रहेका नेपालीहरुले पनि त्यसका लागि आवश्यक सहयोग गर्नेछन् ।

त्यसका साथै हामीले नेपाली जर्सी लगायत अन्य माध्यमहरुबाट पनि आर्थिक संकलन गरिरहेका छौं । हाम्रो राष्ट्रिय फुटबल टोली र खेलाडीहरुलाई समर्थन गने कुराले हामी निकै उत्साहित र गर्विलो अनुभति गरिरहेका छौं ।”

त्यसैगरी एनआरएनए अष्ट्रेलियाले पनि नेपाली फुटबल टोलीलाई सहयोग गर्न अघि सरेको छ । साथै क्यानेबरामा रहेको नेपाली राजदुतावासले पनि राष्ट्रिय फुटबल टोलीलाई आवश्यक सहयोग गर्ने बताएको छ ।

स्मरण रहोस, क्यानबेरा स्थित जियो स्टेडियममा हुने नेपाल र अष्ट्रेलियाबीचको उक्त खेल हेर्नका लागि त्यहाँ रहेका ३ हजार नेपाली फुटबल समर्थकहरुले यसअघि टिकट खरिद गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...