मकवानपुर जिल्ला लिग: भुटनदेवी र बुद्ध युवाको जित

हेटौंडा (खेलदैनिक) । हेटौंडामा जारी दानबहादुर श्रेष्ठ स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा मंगलबार पनि तीन खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा भुटनदेवी युवा क्लबले हेटौडा फुटबल एकेडेमीलाई हरायो भने बुद्ध युवा क्लबले गोर्खा ब्वाइजलाई हराएको हो । त्यस्तै तेस्रो खेलमा एफसी मल्टिभिजन र सात नम्बर फुटबल क्लबबीचको गोलरहित बराबरीमा सकिएको छ ।

मंगलबार बिहान भएको पहिलो खेलमा भुटनदेबी युवा क्लबले हेटौडा फुटबल ऐकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्यो । भुटनदेबीका लागि अरुण नेपालीले एकमात्र निर्णायक गोल गरेका थिए । अरुण नै खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।

त्यस्तै दोस्रो खेलमा बुद्ध युवा क्लबले गोर्खा ब्वाईजलाई ३–० गोलअन्तरले हरायो । बुद्ध युवाको जितमा राजन स्याङ्तान एक्लैले २ गोल गरे भने सोमेश माझीले १ गोल गरे । दुई गोल गरेका राजन स्याङ्तान खेलको म्यान अफ दि म्याच घोषित भए ।

त्यसैगरी तेस्रो खेलमा दर्जनौं अवसरहरु सदुपयोग गर्न नसक्दा एफसी मल्टिभिजनले अंक बाँड्न बाध्य भयो । एफसी मल्टिभिजन र सात नम्बर फुटबल क्लबले गोलरहित बराबरी खेलेका हुन् । निर्धारित समयमा दुबै तर्फबाट कुनैपनि गोल हुन नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो ।

प्रतियोगिता आगामी असोज ११ गतेसम्म चल्नेछ । लिगको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला फुटबल संघ मकवानपुरले जनाएको छ ।

खेलमा बुधबार रियलस्टार क्लव र चुरेकालिका युवा क्लवबीच बिहान खेल हुनेछ भने दोस्रो खेल प्रगतिशील युवा क्लव र महाबीर क्लवबीच दिउँसो हुनेछ । त्यसैगरी तेस्रो खेलमा पदमपोखरी युवा क्लव र एचसिएच चाइनाक्वाटर एफसीबीच भिडन्त हुने कार्यक्रम संयोजक अमृत लुङ्बाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...