एक बर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय सफलता

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप दोस्रो चरणको छनौट खेलतर्फ मंगलबार चाइनिज ताइपेईलाई ०–२ ले हराएको नेपाली राष्ट्रिय फुटबल टोलीले एक बर्षको अन्तरालमा पहिलो अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ ।

स्मरण रहोस, नेपालले अन्तिम पटक गत बर्ष सम्पन्न साफ च्याम्पियनसिपतर्फ बंगलादेशलाई हराउँदै अन्तिमपटक जितको स्वाद चाखेको थियो । गत बर्षको सेप्टेम्बरमा ढाकामा भएको सो खेलमा नेपालले बंगलादेशमाथि २–० को जित हात पारेको थियो ।

त्यसपछि यसै बर्षको मार्चमा कुवेत विरुद्ध नेपालले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जसमा एक खेल गोलरहित बराबरीमा सकिएको थियो भने अर्को खेलमा नेपालले १–० हार बेहोरेको थियो ।

त्यस्तै यसै बर्षको जुन महिनामा नेपालले चाइनिज ताइपेई विरुद्ध पनि एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जुन खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

त्यसपछि विश्वकप छनौटको केही दिन अघि मात्र नेपालले मलेसियन सुपर लिग च्याम्पियन जोहोर दारुल विरुद्ध पनि एक म्याच खेलेको थियो । यद्यपि त्यो खेल फिफा मातहतको अन्तर्राष्ट्रिय फुटबल म्याचका रुपमा थिएन ।

त्यसपछि विश्वकप छनौटतर्फ गत साता कुवेतसँग नेपालले उसकै घरेलु मैदानमा ७–० को फराकिलो हार बेहोरेको थियो । त्यसपछि मात्र आज नेपालले पहिलो अन्तर्राष्ट्रिय जितको स्वाद चाख्न सफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...