एफसी इन्टरनेट, मदन भण्डारी स्पोर्टस् एकेडेमी र सहीद स्मृतिको जित

हेटौडा (खेलदैनिक) । हुप्रचौरमा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा सहीद स्मृति क्लव फापरबारी, मदन भण्डारी स्पोर्टस् एकेडेमी र एफसी इन्टरनेट विजयी भएका छन् । पहिलो खेलमा सहीद स्मृति क्लव फापरबारीले महाबीर क्लव हेटौंडालाई ३–० गोल अन्तरले हरायो ।

फापरबारीको जितमा बाबुराम माझीले २ गोल र कृष्ण रुम्बाले १ गोल गरे । खेलमा फापरबारीका बाबुराम माझी नै म्यान अफ दी म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीले हेटौंडा भेट्रानलाई ६–१ गोल अन्तरले पराजित गर्यो । मदन भण्डारीको तर्फबाट रमेश लामाले ह्याट्रिक गर्दा राजन गोले २ तथा सुनिल भ्लोनले १ गोल गरे । भेट्रान्सको तर्फबाट कृष्ण जोशीले एक मात्र सान्त्वना गोल गरे । खेलमा ह्याट्रिककर्ता रमेश लामा खेलको म्यान अफ दी म्याच चुनिए ।

त्यस्तै एफसी इन्टरनेट र प्रगतिशील युवा क्लवको खेलमा विवाद हुन पुगेको थियो । खेलमा इन्टरनेटले दुई गोल गरेको थियो । आउट भएको बललाई गोल दिएको भन्दै प्रगतिशीलले मैदान छोडेको थियो । असोज ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...