किर्गिस्तानमा नेपाली चेलीहरुको गोल बर्षा

काठमाडौं (खेलदैनिक) । चारदेशीय नडेदा कप महिला फुटबल च्याम्पियनसिप खेल्न किर्गिस्तान पुगेको नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेलमै शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ ।

काराकोल स्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ को फराकिलो अन्तरले हरायो । नेपालको जितमा स्टार स्ट्राइकर साबित्रा भण्डारी (३, १५, ३० र ५४औं मिनट) एक्लैले ४ गोल गरीन् ।

त्यस्तै अनिता बस्नेतले दुई गोल (२४, ८९औं मिनट) गरीन् । त्यसैगरी दिपा राई (२५औं मिनट) तथा निरु थापा (३७औं मिनट) ले थप दुई गोल गरेका थिए ।

उता पराजित किर्गिस्तानका लागि १९औं मिनटमा बोरोनबेकोवा तथा २२औं मिनटमा सस्किभा आइपेरीले दोस्रो गोल गरेकी थिईन् । स्मरण रहोस फिफा वरियतामा नेपाल १०६औं स्थानमा छ भने किर्गिस्तान वरियता विहीन छ ।

दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपालले आफ्नो दोस्रो खेल बलियो मानिएको उज्बेकिस्तानसँग सोमबार खेल्नेछ । प्रतियोगितामा नेपाल, किर्गिस्तान, उज्बेकिस्तान र ताजिकिस्तान रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...