सुशिलको गोलमा संकटा फाइनलमा

(सुरज राना मगर, खेलदैनिक, बुटवल)

वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका सुशिल केसीको उत्कृष्ट निर्णायक गोलमा सिएमजी संकटा क्लब यहाँ जारी १९ औं तिलोत्तमा गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका केसीले खेलको अतिरिक्त समयमै वान भर्सेज वानमा सुन्दर गोल गर्दै संकटालाई फाइनलको यात्रा तय गराउन सफल भए ।

यसअघि पहिलो हाफ १–१ को बराबरी खेलेको दुवै टोलीले दोस्रो हाफमा थप गोलको प्रयास गरे तापनि गोल हुन भने सकेको थिएन । खेलको २६ औं मिनेटमा चेतन कुमार थारुको गोलबाट अग्रता लिएको हिमालयन क्लबले उक्त अग्रता जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरिनु प¥यो । पहिलो खाएर आक्रमक बनेको संकटाले पहिलो हाफमै गोल फर्काउन सफल भएको थियो । उसका लागि मार्टिन्सले खेलको ४३ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याईपु¥याएका थिए ।

यद्यपि खेलको अन्तिमतिर सुशिल केसी हिरो बनिदिंदा संकटाले फाइनलको यात्रा गर्न सफल भयो । बुधबारको खेलमा निर्णायक गोल गरेका सुशिल केसी म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै खेलभावना विपरित खेलेपछि फिफा  रेफ्रि विकास महतले संकटाका प्याट्रिस जोनलाई पहेंलो कार्ड देखाएका थिए ।

संकटाले अब उपाधिका लागि बिहीबार हुने घरेलु टोली अग्नि रुपन्देही र विभागीय टोली नेपाल आर्मीबीचको विजेतासँग फाइनल खेल्नेछ ।

प्रतियोगिता अन्तर्गत बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक अग्नि रुपन्देही र नेपाल आर्मी बीच हुने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसीले जानकारी दिनुभयो ।

प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ। विभागीय टिमसहित १० टिम सहभागि प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्पा क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ।

करिव ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रायोजकको रुपमा १५ लाख रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।

 


प्रतिक्रिया दिनुहोस

Loading...