नेपालले मलेसियाको लिग च्याम्पियनसँग खेल्ने

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको लिग च्याम्पियन जोहोर दारुल ता जिम एफसीसँग मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ । फिफा विश्वकप २०२२ को एसियाली छनौट खेल्ने तयारीमा रहेको नेपालले त्यसको अन्तिम तयारी खेलका रुपमा मलेसियन लिग च्याम्पियनसँग भिड्न लागेको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार नेपालले २६ अगस्तका दिन मलेसियन सुपर लिग च्याम्पियनसँग जोहर शहर स्थित पासर गुडाङ्ग स्टेडियममा खेल्नेछ । स्मरण रहोस, नेपालले विश्वकप छनौटतर्फ कुवेत विरुद्ध भिड्नु अघि ठिक १० दिन पहिले मलेसियन सुपर लिग च्याम्पियनसँग खेल्नेछ । विश्वकप छनौटतर्फ नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर ५ तारीखका दिन कुवेतसँग खेल्दैछ ।

कुवेत र नेपालको यो बर्ष यो तेस्रो भेट हुनेछ । यसअघि नेपालले गत मार्चमा कुवेतको भ्रमण गरेको थियो । जहाँ नेपाली टोलीले कुवेतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेलेको थियो । जसमध्ये एक खेल गोलरहित बराबरीमा सकिएको थियो भने अर्को खेलमा नेपाल ०–१ ले पराजित भएको थियो ।

कुवेतले भर्खरै इराकमा सम्पन्न वाफ च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । विश्वकप छनौटतर्फ समूह बी मा परेको नेपाल र कुवेतसँगै बलियो अष्ट्रेलिया, जोडृन र चाइनिज ताइपेइ रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...