नेपालको ‘होम म्याच’ कुवेतमा नहुने निश्चित

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ को दोस्रो चरणको एसियाली छनौटतर्फ सेप्टेम्बर ५ तारीखका दिन नेपालको होम म्याच कुवेतको कुवेत सिटीमा हुने भनिएकोमा अब त्यहाँ नहुने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको त्यो होम म्याच फिफाले कुवेतमै गराउन स्वीकृति दिने आशा लिएको थयो । तर त्यो आशा निराशामा परिणत भएको छ । खेलदैनिकलाई जानकारी प्राप्त भएअनुसार एन्फाका प्रवक्त किरन राईले अब न्युट्रल भेन्युका लागि आवश्यक पहल शुरु गर्ने बताएका छन् ।

यसबारे बोल्दै प्रवक्ता राईले भने, “फिफाका अनुसार हामीले होम र अवे म्याच कुवेतमा खेल्न नसक्ने भएका छौं । हामी कुवेत एफएसँग नियमित सम्पर्कमा छौं । यसबारे हामीले छिटै निर्णय लिनेछौं ।”

२०७२ सालको विनाशकारी भूकम्पपछि नेपालको घरेलु मैदानका रुपमा रहेको एक मात्र दशरथ रंगशाला क्षतिग्रस्त रहेको र त्यसको पुननिर्माण कार्य जारी रहेकाले त्यो कार्य सम्पन्न हुन कति समय लाग्ने हो, त्यो निश्चित भईसकेको छैन । त्यसैमाथि आउँदो डिसेम्बरदेखि १३औं दक्षिण एसियाली खेलकुद (साग) पनि नेपाल मै हुने भएपछि विश्वकप छनौटका लागि नेपालको घरेलु मैदानको अझै टुँगो लाग्न सकेको छैन ।

खबरअनुसार एन्फाले नेपालको घरेलु म्याच आयोजनाका लागि विभिन्न देशहरुसँग आवश्यक छलफल गरिरहेको छ । गोलनेपालका अनुसार नेपालको होम म्याच, भारत, मलेसिया, हङकङ वा कतारमा हुन सक्ने बताइएको छ ।

स्मरण रहोस, फिफा विश्वकप २०२२ को एसियाली छनौटको दोस्रो चरणतर्फ नेपाल बलियो अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेइसँगै समूह बी मा परेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...