पुलिसलाई हराउदै आर्मी अन्तिम चारमा

(सुरज राना मगर, खेलदैनिक, बुटवल)

विभागीय टोली नेपाल आर्मी क्लब बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनल खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

खेलको शुरुवातदेखि नै पुलिसमाथि निरन्तर दबाब दिएको आमीले पहिलो हाफमै २ गोलको अग्रता लिन सफल भएको थियो । उसका लागि खेलको २० औं विवेक बस्नेतले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफकै ३८ औं मिनेटमा राजिव गुरुङले हेड गोल गर्दै आर्मीको अग्रता दोब्बार पारेका थिए ।

दोस्रो हाफमा केही सुधारिएको र आक्रमक खेल प्रस्तुत गरेको पुलिसले खेलको ७८ औं मिनेटमा निर कुमार राईको गोलमा खेलमा फर्किने प्रयास गरे तापनि अतिरिक्त खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्मीका दिप लामाले ८३ औं मिनेटमा थप एक गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए ।

खेलमा आर्मीका सन्तोष तामाङ र सुमन अर्याल तथा पुलिसका तेज तामाङले पहेंलो कार्डको सामना गरेका थिए । मंगलबारको खेलमा आर्मीका विवेक बस्नेत म्यान अफ दि म्याच घोषित भए । अब फाइनल प्रवेशका लागि आर्मीले घरेलु टोली अग्नि रुपन्देही–११ स“ग फागुन १९ गते हुने दोस्रो सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब र सिएमजी संकटा क्लबबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसीले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस

Loading...