प्रदेश १ स्तरीय महिला फुटबल शुरु, सतासीधामको शानदार शुरुवात

झापा (खेलदैनिक) । झापाको शिवसताक्षीमा बुधबारदेखि सुरु प्रदेश १ स्तरीय उपमेयर कप महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ्ग क्लब झापाले विजयी सुरुवात गरेको छ । बिजयी शुरुवात गर्ने क्रममा सतासीधामले चुलाचुली महिला फुटबल क्लब, इलामलाई ४–० को फराकिलो अन्तरले हरायो ।

बिजयी टोलीका लागि मिना राईले २ गोल गरीन् भने मुना लावती र जमुना आले मगरले समान १–१ गोल गरेका थिए । मुनाले पहिलो हाफको १५औँ मिनेटमा जमुनाको क्रस पासमा गोल गर्दे टिमलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै दोश्रो हाफको १०औँ मिनेटमा मिना राईको पासलाई सदुपयोग गर्दै जमुनाले दोस्रो गोल गर्न सफल भईन् ।

एकपक्षीय जित निकालेको सतासीधामका लागि दोस्रो हाफकै १४ र २९औँ मिनेटमा मिना राईले लगातार दुई गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरेकी थिईन् । खेलको वुमन अफ दी म्याच दुई गोल गरेकी मिना राई घोषित भइन् । मिनाले पुरस्कार वापत उनले नगद १ हजार प्राप्त गरीन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा साउन २२ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत बिहीबारको खेल उर्लाबारी एफसी, मोरङ र पारिजात महिला फुटबल क्लब, झापाबीच हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गले बताए ।

प्रतियोगितामा प्रदेश १ अन्तरगतका झापा, इलाम र मोरङ जिल्लाका कुल १० महिला फुटवल टिमहरुको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...