एन्फाको टेक्निकल डाइरेक्टरमा पूर्व अष्ट्रेलियन फुटबलर फिलिप्स

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो टेक्निकल डाइरेक्टरमा पूर्व अष्ट्रेलियन फुटबलर ग्यारी माइकल फिलिप्सलाई नियुक्त गरेको छ । एन्फाको मंगलबार बसेको आकस्मिक बैठकको निर्णयअनुसार एसियाली फुटबल महासंघ (एएफसी) ले उपलब्ध गराएको आर्थिक सहयोगमा एन्फाले ५६ बर्षिय फिलिप्सलाई सो पदमा नियुक्त गरेको हो ।

फिलिप्सले सन् २००१ देखि २००३ सम्म अष्ट्रेलियन क्लब सिड्नी ओलम्पिकको प्रशिक्षकीय जिम्मेवारी समेत सम्हालेका थिए । जहाँ उनले क्लबलाई सन् २००१–०२ को सिजनमा उपाधि पनि जिताएका थिए । स्मरण रहोस, फिलिप्सले सिड्नी ओलम्पिकमा खेलाडीका रुपमा पनि शानदार रुपमा एक दशक भन्दा बढी बिताएका थिए । त्यस क्रममा मिडफिल्डमा खेल्ने उनले क्लबका लागि २५८ म्याच खेल्दै १३ गोल पनि गरेका थिए ।

त्यसपछि एएफसीको मुख्यालय मलेसिया स्थित क्वालालम्पुरमा पनि काम गरेका फिलिप्सले सन् २००९ को डिसेम्बरमा चर्चित मलेसियन क्लब सबाह एफएको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका थिए । जहाँ उनले क्लबलाई सात महिना मै सुपर लिगमा बढुवा गराएका थिए ।

मलेसियाको बसाई पछि सन् २०१५ को फेब्रुअरीमा उनले पपुआ न्युगिनीको महिला फुटबल टोलीको जिम्मेवारी पनि सम्हाले । केही समय त्यहि बिताएका फिलिप्स सोही बर्ष फेरि एनएस म्याट्रिक्स एफसीको जिम्मेवारी सम्हाल्न मलेसिया फर्किएका थिए । त्यसपछि उनले सन् २०१७ मा फिलिपिनो क्लब डवाओ एकिलासको जिम्मेवारी पनि सम्हालेका थिए ।

फिलिप्सको नियुक्तिलाई नेपाली फुटबलमा राम्रो सम्भावनाका रुपमा समेत हेरिएको छ । त्यसैगरी एन्फाले हेड अफ कोचेज एजुकेशन पदमा सजित सिंहलाई नियुक्त गरेको छ भने हेड अफ इलिट एण्ड युथमा नविन महर्जनलाई नियुक्त गरेको छ । त्यस्तै महिला टोलीको प्रमुखमा हरि खड्कालाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...