किशोरको यात्रा : क्रिकेटको ‘ब्याट–बल’देखि गोलकिपरको ‘ग्लव्स’सम्म

  • राज कुमार श्रेष्ठ

भारतको सिलोङ्गमा वि.सं. २०५१ कार्तिक २७ गते जन्मिएका किशोर गिरी मोफसलको प्रतियोगिताहरुमा लोकप्रिय गोलकिपरको रुपमा आफुलाई परिचित गराउन सफल भएका छन । बुबा राम कुमार गिरी र आमा दिवंगत छ्ली माया गिरीको कोखबाट यस सुन्दर संसारमा जन्मिएका किशोर तीन दाईहरुपछिका कान्छा भाई हुन् ।

१२ वर्ष सम्म भारतको सिलोङ्गमै रहेका किशोरको अधिकांश बाल्यकाल उतै बित्यो । उनले भारतमा तीन कक्षा सम्म पढे पछि उनी नेपालको मोरङ्ग जिल्लाको बेलबारी आएर परिवारसँगै बस्न थाले । उनले बेलबारीको श्री भगवती मा.वि. बाट २०६८ सालमा एस.एल.सि. पास गरेका थिए ।

गिरी आफ्नो बाल्यकालमा कम बोल्ने र लजालु स्वभावका कारण सबैसंग घुलमिल हुन नसकेको बताउँछन् । किशोर सानोमा क्रिकेट पनि खेल्ने गर्थे । वर्षाको समयमा पानी पर्ने हुनाले क्रिकेट खेल्ने मैदान बिग्रीएको हुन्थ्यो । त्यो समयमा गिरी गाउँका दाईहरुसँग फुटबल खेल्थे । फुटबल खेल्दै गर्दा गिरी शुरुवातमा अग्रपंक्तिबाट खेल्थे र कहिलेकाही गोलकिपर नभएको बेला दाईहरुले उनलाई गोलपोष्टको जिम्मा दिने गरेको सम्झिन्छन् । यसरी खेल्दा खेल्दै किशोरको गोलकिपिङ यात्रा शुरु भएको थियो ।

अन्तर विद्यालय फुटबल प्रतियोगिता हुँदा उनले उर्लाबारीको राधिका मा. वि. को प्रतिनिधित्व गर्दै विराटनगरमा विजयी हुँदै काठमाडौको राष्ट्रिय प्रतियोगिता समेत खेलेका थिए । त्यहाँ पनि बिजेता बनेको किशोरको टोलीले सन २०१० को फिफा विश्वकपको ट्रफी भारतको कोलकातामा गएर प्रत्यक्ष हेर्ने मौका समेत पाएका थियो ।

भनाई छ, दुःख पनि त्यो व्यक्तिलाई दिइन्छ, जसको भाग्यमा दुःख नै दुःख लेखिएको हुन्छ । यस्तै गिरीलाई पनि २०६६ सालमा आमाको असामयिक निधनले स्तब्ध बनाएको थियो । आमाको निधन पछि आफुलाई सम्हाल्न निकै गाह्रो भएको गिरी सम्झन्छन् । भनिन्छ नि “खुकुरीलाई के थाहा अचानोको दुखाइ“ भने झै जसलाई समस्या पर्छ, त्यसलाई मात्र पिडा थाहा हुन्छ । त्यस पछि गिरीलाई बुबा राम कुमार गिरीले न्यानो माया र स्नेहले हुर्काएका थिए ।

दश कक्षा पढ्दा पढ्दै उनी काठमाडौको पुल्चोक स्पोर्टिङ क्लबबाट २०६८ सालमा बी डिभिजन खेल्दा उत्कृष्ट गोलरक्षकको अवार्ड समेत जितेका थिए । त्यस पछि गिरीले महेन्द्र बासबारीबाट पनि खेल्ने मौका पाए । उनले राष्ट्रिय लिग मोरङ्ग ११ बाट पनि खेले यसरी नै उनले झापा ११ हुँदै हिमालयन शेर्पा क्लबबाट पनि व्यवसायीक फुटबल खेलिसकेका छन् ।

किशोर गिरीको खेल्ने शैलीलाई मेक्सिकोका राष्ट्रिय टिमका गोलकिपर गुइलेर्मो ओचोआसँग तुलना गर्ने गरिन्छ । उनको कपालको शैली, उचाई र खेल्ने शैली सबै मिल्दो जुल्दो भएकै कारण उनलाई नेपालको ओचोआ उपनाम पनि दिइएको उनी बताउँछन् ।

सन २०१८ को जुलाईमा एएफसी यु–२३ च्याम्पियनसिपका लागि पहिलोपटक नेपाली टोलीमा पर्न सफल भएका थिए । तर उनले खेल्न भने पाएननु । त्यसै महिना कतारमा च्यारिटी खेलको लागि उद्घाटनमा नेपाल र भारत बिचको मैत्रीपुर्ण खेलमा गिरीले खेल्ने अवसर पाएका थिए । त्यस पछि उनी नेपालको घरेलु प्रतियोगितामा व्यस्त भए ।

मोफसलका प्रतियोगिताहरुमा विभिन्न क्लबहरुबाट नेपालको सबै प्रतियोगिता खेलेका गिरीले सो प्रतियोगिताहरुमा विभिन्न उपाधि तथा व्यक्तिगत पुरस्कार समेत जितेका छन् । तर दुर्भाग्य उनी मोफसलको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै यति व्यस्त हुँदा पनि राष्ट्रिय टिमको क्लोज क्याम्पमा भने पर्न सकेका छैनन् । जुन कुराले उनलाई दुःख पनि लाग्छ ।

गिरी भन्छन “पढाइ पनि एस.एल.सी. सम्म र फुटबल बाहेक अरु केही सीप नजानेको र जब देखि मैले फुटबल खेल्न थाले, त्यो दिन देखि मैले आफ्नो सारा जीवन फुटबलकै लागि सुम्पिएको छु साथै पछि पनि फुटबलकै लागि काम गर्छु ।”

गिरी अगाडी भन्छन्, “म जस्ता यस्ता धेरै खेलाडीहरु छन, जो फुटबलमा नै आफ्नो भविष्य देखेका छन । तर हाम्रो देशमा अझै पनि फुटबलको राम्रो सम्भावना देखेको छैन । स्थानीय खेलाडीलाई पहिचान गर्न सकिएको छैन । नेपालको लिगको उचित व्यवस्था नहुनु साथै एउटा प्रतियोगिता नसकी अर्को प्रतियोगिता सुरु हुनु जस्ता कुराले खेलाडी सारै मारमा परेका छन ।”

फिफाको नियम अनुसार एउटा खेल खेली सके पछि खेलाडीले ४८ घण्टा अर्थात पुरै २ दिन आराम पाउनु पर्छ । तर यहाँ कुनै एउटा प्रतियोगिता भयो भने ८ वटा टिमको ७ दिनमा प्रतियोगिता सकिन्छ । गिरीका अनुसार खेलाडीहरुले बाध्यताले खेल्नु परिरहेको कुरा बताउँछन् । उनी भन्छन् “एकपटक सोच्नुस त ! नेपालका खेलाडीहरुले कसरी फुटबल खेलिरहेको छन ? मान्नै पर्छ नेपालका खेलाडीहरुलाई उचित व्यवस्था नहुदा पनि खेल्न बाध्य छन ।”

यस्ता कुराहरुलाई सुधार गर्न नसकिए नेपाली फुटबल झन तल खस्किदै जाने उनको बुझाई छ । नेपालको फुटबल विकास गर्ने हो भने एउटा गुरु योजना बनाउनु पर्छ । गिरीलाई लाग्छ घरेलु लिगको उचित व्यवस्था, जिल्ला फुटबलमा उचित कार्यक्रम, मोफसल प्रतियोगिताको मापदण्ड साथै शून्य अवस्था देखि नै फुटबललाई अगाडि बढाउन जरुरी छ । खेलकुदको विकासले समग्र राष्ट्रियको विकास हुने भएकाले सरकारले पनि यसमा उचित लगानी गर्नुपर्नेमा जोड दिन्छन् गिरी ।

गिरी भन्छन्, “खेलाडीहरुले खेलेर आफ्नो जीवन बाच्नका लागि अझै पनि उचित व्यवस्था नभएकाले सम्बन्धित निकायले यस विषयलाई ध्यान दिंदै आगामी दिनमा खेलकुदले नै देशको नाम उच्च बनाउन सक्ने किसिमको व्यवस्थापन गर्न जरुरी छ ।”

कुराकानी कै क्रममा गिरीले एक दिन आफ्नो बुवासँग फुटबल खेलेरै मोटरसाइकल चढ्ने बताएको कुरा सम्झिन्छन् । जुन उनले गत बर्ष सम्पन्न पाचौं म्याइ भ्याली गोल्डकपमा पूरा समेत गरे । त्यतिबेला हिमालयन शेर्पाबाट खेलेका गिरीले आफ्नो क्लब फाइनलमा दाफिन्स एफसीसँग पराजित भए तापनि गिरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै मोटरसाइकल प्राप्त गर्न सफल भएका थिए ।

त्यसलाई करियर कै विशेष क्षण मध्ये एक मान्छन् गिरी । २०७४ सालमा अलबिना लिम्बूसँग वैवाहिक सम्बन्धमा बाँधिएका गिरीले आफ्नो खेल जीवनपछि आफ्नै जिल्लामा रहेर प्रशिक्षकको भुमिकामा स्थानीय खेलाडीहरूलाई प्रशिक्षण दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने लक्ष्य रहेको गिरी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...