फुटबलमा सक्रिय प्रदेश १, महिला फुटबल टोलीलाई सम्मान र प्रोत्साहन एक साथ

काठमाडौं (खेलदैनिक) । पछिल्लो केही समय यतादेखि फुटबलमा सक्रिय भएर लागिपरेको प्रदेश १ सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान र प्रोत्साहन गरेको छ ।

मंगलबार एक कार्यक्रमको आयोजना गरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले महिला फुटबल टोलीका सदस्यहरुलाई जनही १–१ लाखका दरले सम्मानित गरे । गत बर्ष विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपको उपविजेता समेत बनेको नेपाली महिला फुटबल टोलीलाई सम्मान गर्नु आफ्नो एउटा कर्तव्य र जिम्मेवारी समेत रहेको मन्त्री राईले बताए ।

स्मरण रहोस, शहिद रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग १–३ को हार बेहोर्दै उपविजेतामा चित्त बुझाएको थियो । त्यति मात्र नभएर नेपाली महिला फुटबल टोली टोक्यो ओलम्पिकका लागि भएको एसियाली छनौटतर्फ दोस्रो चरणमा पुग्न समेत सफल भएको थियो ।

सो सम्मान कार्यक्रममा मन्त्री जिवन घिमिरे, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फाका प्रवक्ता किरन राई लगायतको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा बोल्ने क्रममा एन्फा अध्यक्ष शेर्पाले प्रदेश १ सरकारले गरेको सहयोग सराहनीय कार्य भएको भन्दै प्रदेश सरकारले धन्यवाद समेत दिए ।

सो अवसरमा राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पनि प्रदेश १ सरकारले धन्यवाद दिए । यसअघि सोमबार मात्र बिराटनगर महानगरपालिकाले आफूले वाचा गरे अनुरुप राष्ट्रिय महिला फुटबल टोलीलाई जनही ५०–५० हजारका दरले सम्मानित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...