मनाङ माल्दिभ्सको टिसी स्पोर्टससँग पराजित

फागुन १६ / बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा नेपालबाट भाग लिएको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लब बाहिरिएको छ ।

सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो ।
८३ औँ मिनेटमा टिसी स्पोर्टसका नाफिउ अलिले गरेको गोल नै निर्णायक भएको हो । खेलमा मनाङ र टिसी स्पोर्टस दुबैको फिनिसिङ निकै फितलो देखिएको थियो ।

मनाङले गरेको केही राम्रा प्रहार भने टिसी स्पार्टसका गोलरक्षक किरण चेम्जोङले विफल पारे । टिसी स्पोर्टसको गोलपोष्ट नेपाली राष्ट्रिय टिमका गोलरक्षक किरण चेम्जोङले सम्हालेका हुन्। किरण खेलको म्यान अफ द म्याच भए। उनले ५०० डलर अर्थात् नेपाली ५० हजार रुपैंया प्राप्त गरेका छन् ।

समूह उपविजेता बनेको मनाङ र समूह विजेताको रुपमा टिसी स्पोर्टस अन्तिम चारमा पुगेका थिए । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले फिनिसिङ कमजोर हुँदा हार व्यहोरेको बताए ।

मनाङ लिग चरणमा एक खेलमा जित, एकमा बराबरी र एक खेलमा हार ब्यहोरे पनि हेड टू हेडका आधारमा समूह ‘बी’ उपविजेता बन्दै प्रतियोगिताको सेमिफाइनल आएको थियो । टिसी स्पोर्टस समूह ‘ए’ को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । प्रतियोगिताका विजेताले ३० हजार अमेरिकी डलर र उपविजेताले १५ हजार अमेरिकी डलर पुरस्कार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...