अष्ट्रेलियाका यी स्टार डिफेन्डर भन्छन्, “नेपाल विरुद्धको खेल पनि सहज हुने छैन”

काठमाडौं (खेलदैनिक) । विश्वकप छनौटतर्फ एउटै समूहमा रहेको अष्ट्रेलियाका चर्चित डिफेन्डर अजिज बेहिचले नेपाल आफूहरुका लागि नौलो टोली भएको बताएका छन् । तर उनले टोलीका अन्य स्टाफहरुले नेपालबारे आवश्यक अध्ययन गर्ने समेत विश्वास गरेका छन् ।

स्मरण रहोस, विश्वकप छनौटतर्फ अष्ट्रेलिया र नेपालसँगै जोर्डन, कुवेत र चाइनिज ताइपेइ समूह बी मा परेका छन् । नेपालले अष्ट्रेलियासँग अक्टुबर १० तारीखका दिन उसकै घरेलु मैदानमा खेल्ने तय भईसकेको छ । यद्यपि खेल स्थलबारे भने अझै तय भईसकेको छैन ।

कुराकानी कै क्रममा टर्कीस क्लब इस्तानबुल बेसकसेहिरबाट व्यवसायीक फुटबल खेल्ने यी २८ बर्षिय लेफ्टब्याक भन्छन्, “यो पक्कै पनि कठिन हुनेछ । यद्यपि हामी आफ्नो स्तरलाई उच्च राख्नेछौं र एसियामा हामी विशेष प्रभाव छाड्न चाहन्छौं । सबै समूह कठिन छन् । हाम्रो समूहको कुरा गर्दा, प्रतियोगिता शुरु हुने दिनका लागि म व्यग्ग्र प्रतिक्षारत छु ।

हाम्रो समुहमा रहेका जोर्डन र कुवेतसँग हामीले खलिसकेका छौं । त्यसमध्ये कुवेतसँग हामीले गत बर्ष मात्र खेलेका थियौं । समूहका अन्य दुई टोली (नेपाल र ताइपेइ) विरुद्धको खेल पनि सहज हुने छैन । यी दुई टोली हाम्रा लागि केही नौलो भए तापनि टिमका अन्य स्टाफहरुले उनीहरुको पछिल्ला खेलहरुको मुल्यांकन गर्दै हामीलाई जानकारी दिनेछन् भन्ने कुरामा विश्वस्त छु ।”

त्यति मात्र नभएर अजिजले आफूहरु समूहको प्रत्येक टोलीहरुसँग उस्तै मानसिकता लिएर भिड्ने बताए । साथै त्यसका लागि आफूहरु निकै व्यग्रका साथ प्रतिक्षारत रहेको समेत उनको भनाई उद्दत गर्दै अष्ट्रेलियन साइट सकरुसले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...