विश्वकप ड्र नेपाल समूह बी मा, पूर्व एसियन च्याम्पियन अष्ट्रेलियासँग भिड्ने

काठमाडौं (खेलदैनिक) । कतारमा हुने फिफा विश्वकप२०२२ को एसियाली छनौटतर्फ दोस्रो चरणको ड्र बुधबार मलेसियामा निकालिएको छ । मलेसियाको क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा निकालिएको ड्र मा नेपाल पूर्व एसियन च्याम्पियन अष्ट्रेलिया, जोर्डन, चाइनिज ताइपेइ र कुवेतसँगै समूह बी मा परेको छ ।

त्यस्तै अर्को दक्षिण एसियाली राष्ट्र तथा साफ च्याम्पियन माल्दिभ्स समूह ए मा परेको छ । तुलनात्मक रुपमा केही सहज समूह पाएको माल्दिभ्सले समूह ए मा चीन, गुआम, फिलिपिन्स र सिरियासँग खेल्नेछ ।

त्यसैगरी तीन दक्षिण एसियाली राष्ट्र अफगानिस्तान, भारत, बंगलादेश एउटै समूह ई मा परेका छन् । सो समुहमा यी तीन टोली बाहेक एसियन च्याम्पियन कतार र ओमान रहेका छन् ।

त्यसैगरी अर्को दक्षिण एसियाली राष्ट्र श्रीलंका समूह एचमा परेको छ । जहाँ उसले दक्षिण कोरिया, उत्तर कोरिया, लेबनान र तुर्कमेनिस्तानसँग खेल्नेछ ।

यहि आउँदो ५ सेप्टेम्बरदेखि अर्को बर्षको ९ जुनसम्म जारी रहने छनौट प्रतियोगितातर्फ प्रत्येक समूहका शिर्ष टोली र उत्कृष्ट चार उपविजेता टोलीहरु सहित कुल १२ टोलीहरुले तेस्रो चरणको एसियन छनौटमा स्थान बनाउने छन् । साथै ती १२ टोलीहरु सन् २०२३ को एएफसी एसियन कपका लागि स्वतः छनौट समेत हुने छन् ।

एसियन कपको १८औं संस्करण सन् २०२३ को जनवरीदेखि चीनमा शुरु हुँदैछ । जहाँ एसियाका कुल २४ टोलीहरुले सहभागिता जनाउने छन् । कतार एसियन कपको डिफेन्डिङ च्याम्पियन हो ।

विश्वकप छनौटतर्फ नेपालले चार खेल घरमा खेल्नेछ भने चार खेल अवे मैदानमा खेल्नेछ । यद्यपि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिलेसम्म नेपालको घरेलु मैदानको टुँगो लगाएको छैन ।


प्रतिक्रिया दिनुहोस

Loading...