विश्वकपको दोस्रो चरणको ड्र आज, को–को बन्लान् नेपालको प्रतिद्वन्द्वी ?

काठमाडौं (खेलदैनिक) । फिफा विश्वकप २०२२ को एसियन छनोटतर्फ दोस्रो चरणको ड्र आज मलेसियाको क्वालालम्पुर स्थित एएफसीको मुख्यालयमा निकालिंदैछ । विश्वकप छनौटको दोस्रो राउण्डमा भिड्न लागेका सबै सहभागि राष्ट्रहरुको ध्यान आज निकालिने ड्र तर्फ नै केन्द्रित छ ।

दोस्रो चरणको छनौटतर्फ फिफा वरियताका माथिल्लो टोलीहरुको सहभागिता रहने भएकाले नेपालले पनि बलियो टोलीहरुसँग भिड्नु पर्ने निश्चित छ । दोस्रो छनौटका लागि नेपाल पोट पाँचमा परेको छ ।

गोलनेपालका अनुसार आज हुने ड्र स्थानीय समयअनुसार ५३० शुरु हुनेछ । जुन फिफाको आधिकारिक युट्युज च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिनेछ । ड्र मा एसियाका कुल ४० राष्ट्रहरुले सहभागिता जनाउँदै छन् । यो एसियाली छनौटलाई सन् २०२३ मा हुने एएफसी एसिया कप छनौटका रुपमा समेत रहेको छ ।

त्यसमध्ये गत जुनमा सार्वजनिक गरिएको फिफा वरियताबाट एसियाका शिर्ष ३४ राष्ट्रहरु दोस्रो चरणको छनौट खेल्न सोझै छनौट भएका छन् । त्यस्तै थप ६ राष्ट्रहरु भने पहिलो चरणको छनौट खेलहरु पार गरेर आएका हुन् । पहिलो चरणको छनौट पार गर्ने राष्ट्रहरुमा बंगलादेश, कम्बोडिया, गुआम, मलेसिया, मंगोलिया र श्रीलंका रहेका छन् ।

यहि आउँदो ५ सेप्टेम्बरदेखि अर्को बर्षको ९ जुनसम्म जारी रहने छनौट प्रतियोगितातर्फ प्रत्येक समूहका शिर्ष टोली र उत्कृष्ट चार उपविजेता टोलीहरु सहित कुल १२ टोलीहरुले तेस्रो चरणको एसियन छनौटमा स्थान बनाउने छन् । साथै ती १२ टोलीहरु सन् २०२३ को एएफसी एसियन कपका लागि स्वतः छनौट समेत हुने छन् ।

एसियन कपको १८औं संस्करण सन् २०२३ को जनवरीदेखि चीनमा शुरु हुँदैछ । जहाँ एसियाका कुल २४ टोलीहरुले सहभागिता जनाउने छन् । कतार एसियन कपको डिफेन्डिङ च्याम्पियन हो ।


प्रतिक्रिया दिनुहोस

Loading...