प्रदेश १ लिग : झापा फाइनलमा, उपाधिका लागि मोरङसँग भिड्ने

धरान (खेलदैनिक) । सैनिक युथ क्लब, झापा जारी मुख्यमन्त्री कप प्रदेश १ लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । समूह बी मा रहेको झापाले आफ्नो अन्तिम तथा निर्णायक खेलमा रेड हर्स क्लब, इलामलाई ३–१ ले हराउँदै फाइनलमा मोरङसँगको भेट पक्का गरेको हो ।

धरान स्थित बिपी क्याम्पसको खेलमैदानमा भएको खेलमा झापाका लागि १८औं मिनटमा मिलन राईले पहिलो गोल गरे । लगतै ३०औं मिनटमा अभिषेक गुरुङले झापाको त्यो अग्रता दोब्बर पारे । त्यसैगरी पहिलो हाफकै इन्जुरी समयमा इलामका लागि दर्शन गुरुङले एक गोल गर्दै टोलीलाई खेलमा प्रयास गरे तापनि त्यो प्रयास सफल भएन ।

उता खेलको अन्तिमतिर ८२औं मिनटमा रेजन माझीले झापाली टोलीका लागि तेस्रो गोल गर्दै सैनिक युथको उत्कृष्ट जित पक्का गरे । खेलमा झापाका अभिषेक गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे ।

अब उपाधिका लागि सैनिक युथ क्लब,झापाले मंगलबार बेलबारी एफसी, मोरङसँग फाइनल खेल्नेछ । गोलनेपालका अनुसार फाइनल खेल भने धरान स्टेडियममा हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...