मनाङ र किरण चेमजोङ गोलकिपर रहेको टीसी स्पोर्टस् बंगलादेशमा भिड्दै

फाल्गुन १५ / बंगलादेशमा जारी दोस्रो शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा सोमबारदेखि सेमिफाईनल खेल सुरु हँदैछ । फाईनल प्रवेशका लागि नेपालबाट गएको मनाङ मस्र्याङ्दी क्लबले माल्दिभ्सको क्लब टिसी स्पोर्टसको सामना गर्नेछ ।

 खेल  चितगोङस्थित मोहम्मद अजिज रंगशालामा नेपाली समय अनुसार साँझ ६ः१५ मा सुरु हुनेछ ।

रोमाञ्चक पक्ष त, मनाङ खेल्न लागेको टिसी स्पोर्टस्को गोलपोस्ट मनाङका पूर्व खेलाडी एवम् राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सम्हाल्ने छन् । यस्तो संयोग विरलै मिल्छ । यही सिजनमा किरण टीसी स्पोर्टस् माल्दिभ्स गएका हुन् ।

मनाङ समूह ‘बी’ को उपविजेता र किरणको टिसी स्पोर्टस समूह ‘ए’ को विजेताका रुपमा एकअर्कासँगको भेट पक्का गरेका थिए । समूह चरणको पहिलो खेलमा मोहमोदनलाई २–० ले हराएको मनाङ अर्को खेलमा अफगानिस्तानको शाहिन आस्मायीसँग ३–१ ले पराजित भएको थियो । समूह चरणको अन्तिम खेलमा मनाङ आयोजक चितगोङ अवहनी लिमिटेडसँग २–२ गोलको रोकिएको थियो । पहिलो खेलको जितका कारण हेड टु हेडमा मोहमोदनलाई पछि पार्दै मनाङ सेमिफाईनलमा पुगेको  थियो ।

अर्को समूहमा टिसी स्पोर्टस्ले पहिलो खेलमा ढाका अवहनी लिमिटेडलाई १–० र अर्को खेलमा कीर्गिस्तानको एफसी आल्गालाई २–१ ले हराएको थियो । समूह चरणको अन्तिम खेलमा भने टिसी स्पोर्टस् पोइचेन सिटीजन एफसीसँग १–१ बराबरीमा रोकिएको थियो ।

दोस्रो सेमिफाइनल मंगलबार समूह ‘बी’ को विजेता चितगोङ र समूह ‘ए’ को उपविजेता दक्षिण कोरियाको पोइचेन सिटीजन एफसीबीच हुनेछ । फाइनल मार्च ३ मा हुनेछ । प्रतियोगिताको विजेताले ३० हजार र दोस्रो हुने टोलीले १५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

मनाङका कप्तान अनिल गुरुङले दुवै टीम सशक्त भएकोले खेल प्रतिष्पर्धात्मक हुने बताए । ‘उनीहरु पनि राम्रो टीम हो किनकि सेमिफाईनलमा यत्तिकै पुगेको होईन । हामी पनि सेमिफाईनल खेल्दैछौं । त्यसैले खेल निकै राम्रो हुनेछ ।’ उनले भने– ‘ हामीसँग टिममा सिनियर र जुनियर खेलाडी छन् । टीम राम्रो सेट । यो नै हाम्रो राम्रो पक्ष हो ।’

यसैबीच, मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले पनि खेल निकै कडा हुने बताएका छन् । उनले टीसी स्पोर्टस् समूह विजेता भएर आएकाले पनि निकै सशक्त रहेको बताउँदै गोल गर्ने अवसर खेर फाल्न नहुने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...