प्रदेश १ लिग : बेलबारीको फराकिलो जित

धरान (खेलदैनिक) । मुख्यमन्त्री कप प्रदेश १ लिगको फाइनल चरणको खेलतर्फ बेलबारी एफसी, मोरङले शानदार जितका साथ प्रतियोगिताको शुरुवात गरेको छ । समूह ए मा रहेको बेलबारीले शनिबार बौद्धिक विकास समाज, धनकुटालाई ६–१ को भारी अन्तरले हरायो ।

धरानस्थित विपी क्याम्पसको खेलमैदानमा भएको खेलमा बेलबारीका लागि खेलको पहिलो मिनटमै किरन लिम्बुले गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफमा थप आक्रमक बनेको बेलबारीका लागि ४८औं मिनटमा भुषण लिम्बुले दोस्रो गोल गरे ।

खेलमा एकपक्षीय नतिजा निकालेको बेलबारीका लागि ६१औं मिनटमा बिरेन्द्र लिम्बुले तेस्रो गोल गरे भने ६७ र ७३औं मिनटमा सुसन लामाले लगातार दुई गोल गर्दै मोरङको अग्रता ५–० पुराएका थिए । त्यस्तै थप एक गोल ७७औं मिनटमा भुवन बस्नेतले गरे ।

उता पराजित बौद्धिक विकासका लागि खेलको अन्तिमतिर इन्जुरी समयमा सन्जय रम्तेलले एक मात्र सान्त्वना गोल गरे । खेलमा मोरङका लागि दुई गोल गरेका सुसन लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार पनि प्राप्त गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...