
धरान (खेलदैनिक) । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै सैनिक युथ क्लब, झापाले शुक्रबारदेखि शुरु मुख्यमन्त्री कप प्रदेश १ लिगको सुपर सिक्सको खेलमा बिजयी शुरुवात गरेको छ ।
धरान स्थित बिपी क्याम्पसको खेलमैदानमा भएको समूह बी तर्फको पहिलो खेलमा झापाले बक्शिला एफसी, खोटाङलाई ६–३ ले हरायो । खेलमा खोटाङका लागि श्रीकृष्ण श्रेष्ठले दोस्रो मिनटमै गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ३२औं मिनटमा सुदिप केसीले खोटाङको त्यो अग्रता दोब्बर पारेका थिए ।
तर खेलमा उत्कृष्ट पुनरागमन गरेको झापाका लागि ४३औं मिनटमा मिलन राईले पहिलो गोल गरे । तर ५३औं मिनटमा खोटाङका लागि शैलेन्द्र बजिमयले तेस्रो गोल गर्दै टोलीलाई फेरि खेलमा अग्रता दिलाएका थिए । तर झापाका लागि बिकेश सुब्बा नायक साबित भईदिए ।
सुब्बाले खेलको ६२, ६६, ८४ र ९०+४औं मिनटमा चार गोल गर्दै ह्याट्रिक समेत पूरा गरे । उता झापाका लागि थप एक गोल ७६औं मिनटमा सौरव लिम्बुले गरे । खेलमा ह्याट्रिक हिरो झापाका बिकेश सुब्बा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार पनि प्राप्त गरे ।