यु–१८ च्याम्पियनसिप : मनाङ क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लब जारी ललित स्मृति यु–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मनाङ रहेको समूह बी तर्फको अन्तिम खेलमा बिहीबार फ्रेण्डस क्लबले थ्रीस्टार क्लबलाई २–० ले हराएपछि मनाङ उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीका रुपमा क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फ्रेण्डसका लागि १७औं मिनटमा निसेन सुब्बाले पहिलो गोल गरे भने ८६औं मिनटमा जिवन गुरुङले दोस्रो गोल गरेका थिए ।

बिहीबारको नतिजापछि ४ खेलबाट ४ अंक जोडेको फ्रेण्डस चौथो स्थानमा रह्यो भने १ अंकका साथ थ्रीस्टार पुछारमा रह्यो । त्यस्तै ५ अंक जोडेको मनाङ तेस्रो स्थानमा रहन सफल भयो । त्यसैगरी १२ अंक जोडेको त्रिभुन आर्मी क्लब समूह बी को शिर्ष स्थानमा रहँदा ५ अंक जोडेको एपिएफ राम्रो गोल भिन्नताका आधारमा दोस्रो स्थानमा रह्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...