फुटबलर समिर बिष्टबारे एन्फाले दियो स्पष्टीकरण

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल खेलाडी समिर बिष्टको बिषयमा आफ्नो स्पष्टीकरण दिएको छ । जावलाखेल युथ क्लबका लागि बिष्टले आफूलाई क्लबले पारिश्रमिक नदिएको भन्दै मैदान मै उपस्थित भएर विरोध गरेका थिए । साथै उनले यस बिषयमा एन्फा पनि मौन रहेको भन्दै गुनासो पोखेका थिए ।

बिष्टका अनुसार उनले ५ महिनादेखिको पारिश्रमिक पाएका थिएनन् । यसबारे एन्फासँग बुझ्न खोज्दा एन्फाले भनेको छ, “हामी यस बिषयमा जानकार छौं । यो विवाद क्लब र खेलाडीबीचको हो । खेलाडीले आफ्नो स्वास्थ्य उपचारका क्रममा क्लबले सहयोग नगरेको भन्दै एन्फामा उजुरी गरेका थिए । हामीले यसबारे क्लबसँग जानकारी लिंदा क्लबले खेलाडीको उपचार खर्चका लागि १ लाख उपलब्ध गराएको बताएको छ । त्यसमा बिमा वापत ५० हजार गरेर कुल १ लाख ५० हजार रहेको बुझिएको छ ।”

एन्फाले यसबारे थप अगाडी भनेको छ, “हामी जति सक्दो सधै खेलाडीहरुको समर्थनमा छौं । हामीले सबै क्लबलाई खेलाडीका लागि अनिवार्य स्वास्थ्य बिमा गराउन भनेका छौं । एन्फा मातहतका प्रत्येक प्रतियोगिताहरुमा खेलाडीहरुको बिमा गरिएको छ । जसमध्ये स्वाथ्य बिमा १ लाख र दुर्घट्ना बिमा १० लाख रहेको छ । जुन हामीलाई अझै पनि प्रर्याप्त नभएको महशुस भईरहेको छ ।

अब हामी स्वास्थ्य बिमा ५ लाख र दुर्घट्ना बिमा १० लाख बनाउने बिचार गरिरहेका छौं । तर दुःखद रुपमा बिष्ट (खेलाडी) कास्की जिल्लामा भएको स्थानीय प्रतियोगिता आदर्श कपका बेला चोटिल बनेका थिए । जुन एन्फा मातहतमा रहेर आयोजना भएको प्रतियोगिता होईन । प्राविधिक रुपमा हामी उनलाई केही सहयोग गर्न सक्दैनौं । यद्यपि खेलाडीका लागि थोरै सहयोग भने हाम्रोतर्फबाट हुनेछ । त्यसका लागि एन्फाको कार्यसमितिको बैठकले सो निर्णय पारित गर्नुपर्नेछ । जुन केही समय लाग्न सक्छ ।”

साथै एन्फाले खेलाडी तथा अफिसियलहरुलाई बिमा नभएका स्थानीय प्रतियोगिताहरुमा सहभागिता नजनाउन आग्रह समेत गरेको छ । त्यस्तै एन्फाले खेलाडीहरुले उपचार गराउने अस्पतालबारे पनि आफ्नो विचार राखेको छ । एन्फाका अनुसार खेलाडीहरुले उपचार गर्न महँगा अस्पताल जाने भएकाले पनि खर्च बढी लाग्ने बताएको छ ।

एन्फा भन्छ, “यदि खेलाडीहरुलाई उपचारका लागि ग्राण्डी अस्पतालमा जान जरुरी छ भने उनीहरु टिचीङ अस्पतालमा पनि जान सक्छन् । एउटै किसिमको उपचार खर्चका लागि ग्राण्डी अस्पतालमा ३–४ लाख तिर्नु पर्छ भने अन्य अस्पतालमा सो ही उपचार १ लाखको हाराहारीमा हुन्छ । राष्ट्रिय खेलाडी भरत खवासले आफ्नो खुट्टाको उपचार टिचिङ अस्पतालमा गरेका थिए । त्यस्तै अर्का एक जना यु–१६ खेलाडीले पनि सोही अस्पतालमा उपचार गराएका थिए । यद्यपि यो उपचार गर्ने चाहना खेलाडी र क्लबमा पनि भर पर्ने हुन्छ ।”

त्यस्तै एन्फाले क्लबले खेलाडीलाई पारश्रमिक नदिएकोबारे छानबिन गरिरहेको समेत बताएको छ । गोलनेपालका अनुसार यसबारे जावलाखेल युथ क्लबका पदाधिकारीहरुसँग बुझ्न खोज्दा उनीहरु सम्पर्क आउन सकेनन् ।

फुटबल खेलाडीहरुको केही चोट यस्ता पनि हुन्छन्, जुन उपचारका लागि महँगो पनि भईदिन्छ । यो अवस्थामा अखिल नेपाल फुटबल खेलाडी संघले पनि त्यस्ता खेलाडीहरुलाई सहयोग गर्न अघि सर्नुपर्ने धेरैको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...