फिफा प्रतिनिधीद्वारा एन्फा एकेडेमी बुटवलको निरीक्षण

बुटवल (खेलदैनिक) । बुटवल स्थित देवीनगरमा रहेको एन्फा एकेडेमीको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिनिधीले अवलोकन र निरीक्षण गरेका छन् । फिफा कै गोलप्रोजेक्टमा बनेको एकेडेमी अवलोकनका लागि फिफा प्रतिनिधीका साथै अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय प्रतिनिधीहरुको पनि सहभागिता रहेको थियो ।

एकेडेमी अवलोकन र निरीक्षणका लागि फिफाका प्राविधिक सल्लाहकार चोकी निमासँगै एन्फाका केन्द्रिय उपाध्यक्ष उपेन्द्रमान सिंह तथा एन्फा प्रशिक्षक हरिओम श्रेष्ठ पनि सहभागि थिए । सो अवसरमा फिफा प्रतिनिधी निमाले एकेडेमीको भौतिक पूर्वाधार अवलोकन तथा निरीक्षण गर्नुका साथै एकेडेमीको स्तरोन्नती तथा आवश्यक सहयोगबारे छलफल गरेका थिए ।

निरीक्षणका लागि आएको टोलीलाई रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी (कुमार) तथा एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि बहादुर गुरुङ्गले एकेडेमी निरीक्षणका क्रममा आवश्यक जानकारी उपलब्ध गराएका थिए ।

सो अवसरमा फिफा प्रतिनिधी निमा तथा एन्फाका केन्द्रिय उपाध्यक्ष उपेन्द्रमान सिंहले एकेडेमी सञ्चालनका लागि आवश्यक जनशक्ति, भौतिक पूर्वाधार तथा आगामी योजनाबारे छलफल गर्नुका साथै रिपोर्ट तयार पारेका थिए । फिफाका प्राविधिक सल्लाहकार निमाले एकेडेमीलाई आवश्यक पर्ने सहयोगका लागि फिफासँग आफूले थप पहल गर्ने पनि बताए ।

फुटबल संघका अध्यक्ष केसीले एकेडेमी निर्माणका लागि आवश्यक काम कारवाही जारी रहेकाले आवश्यक कार्यहरु जति सक्दो छिटो सम्पन्न गर्ने बताए । उता एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि बहादुर गुरुङले एकेडेमीको चमेना गृह, शौचालय, छात्रावास, ड्रेसिङ रुम लगायतका भौतिक संरचनाहरुको निर्माण कार्य केही सम्पन्न भएको र केही जति सक्दो छिटो सम्पन्न गर्ने बताए ।

स्मरण रहोस, एन्फाले फिफाको विशेष सहयोगमा देशव्यापी रुपमा युवा खेलाडीहरु छनौट गरी बुटवल र धरानमा निःशुल्क अध्ययन र बसोबास सहितको एकेडेमी सञ्चालन गरिरहेको छ । जसअनुसार बुटवलको एकेडेमीमा हाल २४ जना युवा खेलाडीहरु रहेको एकेडेमीका निर्देशक गुरुङले जानकारी दिए ।

सो अवसरमा निरीक्षणका लागि आएका फिफा तथा एन्फाका प्रतिनिधीहरुले एकेडेमीका युवा खेलाडीहरुसँग भेटघाट गर्नुका साथै फुटबलका आधारभुत ज्ञानहरुबारे जानकारी समेत गराएका थिए । सो अवसरमा रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पुन, सचिव शंकर मल्लाह, कोषाध्यक्ष गोपीराम पुन, प्रशिक्षकद्वय पुकार गहतराज, दिलीप क्षेत्री लगायतहरुको पनि उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...