पुर्वअन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङको फुटबल करियर र भोगाई

  • राज कुमार श्रेष्ठ

इटहरी । पिता गणेश तामाङ र आमा सुन्नी माया तामाङको कोखबाट वि.स २०३७ सालमा सुनसरीको इटहरीमा जन्मिएका सुरेन्द्र तामाङको बाल्यकाल सामान्य तरिकाले बित्यो । उनी सानैदेखि फुटबलमा रुची राख्थे । गाउँका काकाहरु इटहरीको राष्ट्रिय जागृति क्लबबाट फुटबल खेल्दै गर्दा खेल सुरु हुनुअघि माइकबाट खेलाडीको नाम, जर्सी नम्बर भनेको सुन्दा उनलाई फुटबल खेल्दा नाम पो आउने रहेछ भनेर फुटबल प्रतिको मोह झन् बढ्दै गएको बताउँछन् ।

इटहरीकै स्थानीयस्तरका क्लबबाट फुटबल खेल्ने क्रममा देशव्यापी यु–१६ को छनोटमा उनी सुनसरीको टिममा परेका थिए भने जनकपुरमा यु–१६ मा छानिदै काठमाडौंमा १०० जनाबाट क्लोज क्याम्पमा पनि परेका थिए । तर बीचैमा चोटका कारण घर फर्किएका तामाङ ३ महिना घरमै बसे ।

वि.स २०५७ सालमा नेपाली फुटबलको महारथी थ्रीस्टार क्लबसँग आबद्ध हुदा सहिद स्मारक ए डिभिजन लिगमा तेश्रो स्थान प्राप्त गर्दै इटहरीबाट सुरु भएको सुरेन्द्रको फुटबल यात्राले गति तथा व्यावसायिकताको लय समाएको थिया े। उनले एक दशक थ्रीस्टारबाट खेल्ने क्रममा २०६१ सालमा सहिद स्मारक ए डिभिजन लिग सहित घरेलु फुटबलमा सबै प्रतियोगिता जितेका थिए ।

अग्रपंक्तिको जिम्मेवारी सम्हाल्दा सुरेन्द्रले थ्रीस्टारका लागि गोल नगरेका खेल बिरलै हुन्थे । दायाँ भागबाट तीव्र गतिमा बल अघि बढाउने र साँघुरो कोणबाट पनि गोल गर्न सक्ने सुरेन्द्रका विशेष खुबी थिए । उत्कृष्ट लयमा रहँदा ३–४ जना विपक्षीलाई सहजै पार लगाउने सुरेन्द्रको खुट्टाबाट बल खोस्न विपक्षी खेलाडीलाई हम्मेहम्मे पथ्र्यो । घरेलु फुटबलका निर्विवाद सुपरस्टार सुरेन्द्र सहिद स्मारक ए डिभिजन लिगमा ५० गोलको कोसेढुंगा पूरा गर्ने थोरै खेलाडीमध्ये एक हुन् ।

नेपालको आधुनिक फुटबलमा वसन्त थापापछि ५० गोलको आँकडा छुने सुरेन्द्र दोस्रो खेलाडी हुन् । सुरेन्द्र थ्रीस्टारमा हुँदा ५ वर्ष कप्तानको समेत भूमिका निर्वाह गरेका थिए । २०६१ सालको लिग विजेता थ्रीस्टारले २०५७, २०६३ सालमा क्रमश दोस्रो र तेश्रो स्थान प्राप्त गरेको थियो । त्यस्तै थ्रीस्टार क्लबले आहा रारा गोल्डकप, बुढासुब्बा गोल्डकप, बडडे कप, हिरेन्द्र गोल्डकप आदि ठूलो नकआउट प्रतियोगिताको उपाधि जित्दा सुरेन्द्रको योगदान अहम रहन्थ्यो । त्यसबाहेक उनले त्रिभुवन गोल्डकप, तितोत्तमा गोल्डकप, महेन्द्र गोल्डकप खेली सकेका छन् ।

एक दशक थ्रीस्टार क्लबमा रहेका सुरेन्द्रले सन् २००३ बाट २००८ सम्म लगातार नेपालको राष्ट्रिय जर्सीमा अन्तर्राष्ट्रिय खेलाडीको अनुभव पनि बोकेका छन् । थ्रीस्टारबाट अनगिन्ती खेलहरू खेलेका साथै राष्ट्रिय टिमबाट ११ खेल खेलेका तामाङसँग दक्षिण एसियाका भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान विरुद्ध खेलेको अनुभव पनि छ ।

त्यस्तै फ्रेन्ड्स क्लब र सरस्वती क्लबबाट एक–एक वर्ष व्यावसायिक फुटबल खेलेका तामाङ स्याबासीले मात्रै जिन्दगी नचल्ने बताउँछन् । करिब १८ वर्षको दौरानमा उनले कोरिया, ओमान, पाकिस्तान, भुटान, भारत, बंगलादेश, कतारलगायत थुप्रै देशका दर्शकलाई आफ्नो खेलको क्षमता देखाएर फर्किएको अनुभव उनीसँग छ ।

खेलाडीले पाउने भनेको केवल स्याबासी मात्र, त्यो पनि खेल्दासम्म वा खुट्टा चल्दासम्म । ‘सरकारले एक रुपैयाँ पनि दिँदैन, के पाइयो भन्नु र?,’ तामाङले खेलाडीप्रति राज्यको बेवास्ता पोखे, ‘खेल क्षेत्र भनेको खुट्टा चलुन्जेल र खेलुन्जेल मात्रै हो, त्यसपछि उखुको खोस्टाजस्तै बेकम्मा भइँदो रहेछ ।’ ‘खेल जीवन हो, स्वास्थ्यका लागि खेल’ भन्दै सरकारले प्रचारप्रसार गरिरहन्छ । तर, त्यसैमा जीवनको ऊर्जाशील उमेर बिताएका खेलाडीलाई हेर्ने कुरामा सरकारले निरन्तर कन्जुस्याइँ गर्दै आइरहेको छ ।

जुनसुकै समूहबाट खेलेको भए पनि खेलाडी भनेका राष्ट्रका सम्पत्ति हुन् । उनीहरुलाई राज्यले उचित व्यवस्थापन हुने गरी तलब–सुविधाका साथै पेन्सनको सुविधा दिन सरकार किन चुकिरहेको छ ? राजनीति गरेका व्यक्तिलाई उत्तरार्धमा सुविधामाथि सुविधा दिइन्छ । तर, अन्य क्षेत्रमा योगदान पुर्याएका व्यक्तिप्रति राज्यले गर्ने गरेको यो अनुदार व्यवहार कहिले अन्त्य होला र ?

त्यस कारण खेलाडी भनेको खेलुन्जेल अर्थात् खुट्टा चलुन्जेल मात्र हाइहाइ रहेछ भन्ने बुझाइ उनमा हावी छ । यो बेला सुरेन्द्र राज्यले आफूजस्ता खेलाडीलाई हेरिदिए आफूहरूको जीवन केही सहज हुने बताउँछन् । ‘हामीकहाँ राष्ट्रिय खेलाडी उति धेरै छैनन्,’ उनी भन्छन्, ‘एउटा मापदण्ड बनाएर सरकारले राष्ट्रलाई योगदान दिएका खेलाडीका लागि पेन्सनको व्यवस्था गरे हाम्रो मेहनतको सम्मान हुनेथियो।’

यसबाहेक उनका अन्य केही अपेक्षा छनु, सरकारसँग । उनी चाहन्छन– ‘राज्यले आफूजस्ता खेलाडीका बालबच्चा पढाउन तथा परिवारलाई उपचारमा राज्यले विशेष छुट वा सुविधाको व्यवस्था गरोस् । तर, त्यसतर्फ राज्यले नसोच्दा उनी खिन्न छन् । विगतमा देशका लागि ज्यान फालेर योगदान गरेका खेलाडीहरू एक हुनु आवश्यक रहेको तामाङ बताउँछन् । सांगठनिक रूपमा पहल गरे आफूजस्ता खेलाडीले पनि राज्यबाट केही सुविधा लिन सकिनेमा उनी विश्वस्त छन् ।

तर, सबै खेलाडी पलायन हुँदा त कोही गुमनाम बसिदिँदा त्यो पनि हुन नसकिरहेको उनको बुझाइ छ । सुरेन्द्र आफूजस्ता खेलाडीलाई राज्यले कतै सम्बन्धित ठाउँमा लगेर निश्चित जिम्मेवारी दिए आफ्नो ज्ञान र अनुभवबाट राज्यले थप फाइदा लिनसक्ने बताउँछन् । त्यसनिम्ति आफूहरूलाई फुटबल प्रशिक्षकलगायत जिम्मेवारी दिन सकिने र आफूहरू त्यसमा फिट हुने भए पनि राज्यले ध्यान नदिइरहेको उनको ठम्याइ रहेको छ ।

उनै तामाङ अहिलेको नेपाली खेलकुद स्तरसँग निराश छन् । भन्छन्, ‘फुटबलमा अहिले करोडौँको बजेट छ । तर, नतिजा एकदम कमजोर छ ।’ कसरी सुधार गर्ने त अबको फुटबल स्तर ? तामाङ अब फुटबलको स्तर सुधार्न स्थानीय सरकार र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउँछन् । भन्छन्, ‘स्थानीय सरकारले राम्रो खेलाडी उत्पादन गर्ने र प्रदेश सरकारले उनीहरूको व्यवसायीकरण गरेर राष्ट्रिय एक्सपोजर दिए खेलकुद क्षेत्रमा फड्को मार्न सजिलो छ ।’

खेलाडीकै रुपमा तामाङ सिक्किम खेल्न जादा सडक दुर्घट्नामा परेपछि उनको खुट्टामा चोट पुगेको हुदा त्यो चोट जीवन भर नबिर्सिने कुरा तामाङ बताउँछन् । स्मरण रहोस, अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रदान गर्ने प्रतिष्ठित रुपक स्मृति अवार्डबाट २०६९ सालमा उनी सम्मानित समेत भएका थिए।


प्रतिक्रिया दिनुहोस

Loading...