समूह विजेता बन्दै आर्मी क्वाटरफाइनलमा

काठमाडौं (खेलदैनिक) । आफ्नो समूहमा अपराजित रहेको दावेदार त्रिभुवन आर्मी क्लब जारी ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपमा समूह बी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न आफ्नो अन्तिम खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २–१ ले हरायो ।

आर्मीको जितमा आशिष राईले ३३औं मिनटमा पहिलो गोल गरे भने ५३औं मिनटमा बिनय चौधरीले दोस्रो गोल गरे । उता पराजित एपिएफका लागि ६३औं मिनटमा निश्चल रावलले एक मात्र सान्त्वना गोल फर्काए ।

यो जितसँगै ४ खेलबाट १२ अंक जोडेको आर्मी समूह बी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यस्तै ४–४ अंक जोडेका एपिएफ र मनाङ क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोली नै भिड्ने छन्, जसले समूह बी को उपविजेता टोलीको टुंगो लाग्नेछ ।

त्यस्तै १–१ अंक जोडेका फ्रण्डस र थ्रीस्टार क्लब चौथो र पाँचौं स्थानमा छन् र उनीहरु लगभग प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...