प्रदेश १ लिग छनौट : सुनसरीको पहिलो जित

धरान (खेलदैनिक) । जारी मुख्यमन्त्री कप प्रदेश १ लिग छनौटको समूह बी तर्फ सुनसरीले आफ्नो पहिलो जित दर्ता गरेको छ । आफ्नो पहिलो खेलमा तेह्रथुमसँग बराबरी खेलेको धरानले शुक्रबार संखुवासभालाई ३–० ले हरायो ।

धरान स्टेडियममा भएको खेलमा सुनसरीले सबै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । पहिलो गोल ५४औं मिनटमा अविनाश तामाङले गरे । त्यस्तै ७४औं मिनटमा मिलन लिम्बुले सुनसरीको त्यो अग्रता दोब्बर पारे । खेलमा एकपक्षीय जित हात पारेको सुनसरीका लागि ७७औं मिनटमा उमेश राईले तेस्रो गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरे ।

खेलमा सुनसरीका अविनाश तामाङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । त्यस्तै सोही समूहको अर्को खेलमा धनकुटाले भोजपुरलाई ४–१ ले हरायो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र प्रदेश १ सरकारको विशेष सहयोगमा जारी प्रतियोगितामा सहभागी कुल १४ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली बिराटनगरमा हुने अन्तिम चरणको प्रतियोगिताका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...