प्रदेश लिग छनौट : मोरङसँग ओखलढुंगा पराजित

गाईघाट (खेलदैनिक) । मुख्यमन्त्री कप प्रदेश १ को लिग छनौटतर्फ मोरङ जिल्लाले ओखलढुंगालाई २–१ ले पराजित गरेको छ । समूह ए तर्फ रहेका यी दुवै टोलीबीच मंगलबार गाईघाट स्थित थरुहट रंगशालामा भएको खेलमा मोरङका लागि भुषण सुब्बाले ४१औं मिनटमा पहिलो गोल गरे ।

यद्यपि ४६औं मिनटमा अरविन्द अधिकारीले ओखलढुंगाका लागि बराबरी गोल फर्काएका थिए । तर खेलको अन्तिमतिर ओखलढुंगा सम्हालिन सकेन । उता खेलको ७०औं मिनटमा बुद्धबल तामाङले दोस्रो गोल गर्दै मोरङलाई निर्णायक जित दिलाएका थिए ।

खेलको म्यान अफ द म्याच मोरङका भुषण सुब्बा घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । यो जितसँगै मोरङले २ खेलबाट ४ अंक जोडेको छ । उता पराजित ओखलढुंगा भने अंकविहीन छ । समूहको शिर्ष दुई टोली विराटनगरमा हुने फाइनल चरणका लागि छनौट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...