आठ गोलको ‘थ्रीलर’ मा झरना रुपन्देही लिग च्याम्पियन

बुटवल (खेलदैनिक) । वैकल्पिक खेलाडी संगम थापाले ह्याट्रिक गरेपछि शुरुवाती दुई गोलले पछि परेको स्थिति उल्टाउँदै झरना स्पोर्टस क्लब, कुन्जलापुरले रुपन्देही जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको प्रतिस्पर्धात्मक फाइनलमा झरनाले चाँदनी युवा क्लबलाई ५–३ ले हराउँदै उपाधि जित्न सफल भयो ।

खेलको २९औं मिनटमा सुनिल थापाको उत्कृष्ट फ्रिकिक गोलबाट शुरुवाती अग्रता बनाएको चाँदनीले दोस्रो हाफको ४९औं मिनटमा यमन सिंह घर्तीको गोलबाट त्यो अग्रता दोब्बर पारेको थियो । यद्यपि खेलमा उत्कृष्ट पूनरागमन गरेको झरनाका लागि ५३औं मिनटमा मोहन थापाले पहिलो गोल फर्काए ।

त्यस्तै ६३औं मिनटमा झरनाका लिल बहादुर भण्डारीले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए । तर वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका संगम थापाले झरनाका लागि ७७औं मिनटमा तेस्रो गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

तर झरनाले पनि त्यो अग्रता धेरैबेर जोगाउन सकेन । उता खेलको ८२औं मिनटमा चाँदनीका लागि दिल बहादुर फौजाले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक ३–३ को बराबरीमा ल्याएका थिए । चाँदनीले पनि त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन ।

झरनाका लागि खेलको ८९औं र अन्तिमतिर इन्जुरी समयमा लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने झरनालाई ५–३ को जित दिलाउन अहम भूमिका समेत निभाए । बिजेता बनेको झरनाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता चाँदनीले ५५,५५५ रुपैयाँमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक झरनाका मनिष गुरुङ घोषित भ एभने उत्कृष्ट डिफेन्डर पनि झरना कै अजय चौधरी बने । त्यसैगरी उत्कृष्ट मिडफिल्डर चाँदनीका सुनिल थापा घोषित भ एभने उत्कृष्ट फरवार्ड झरनाका निशान सुनार बने । त्यसैगरी उत्कृष्ट प्रशिक्षकको पुरस्कार पनि झरना कै निल प्रसाद छन्त्यालले हात पारे । उत्कृष्ट विधातर्फका सबैले जनही ३–३ हजार प्राप्त गरे ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा जिल्लाका कुल २० क्लबहरुले सहभागिता जनाएका थिए । लिग विजेत ाझरनाले अब प्रदेश लिगमा रुपन्देहीको प्रतिनिधित्व गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...