एन्फाले देशव्यापी रुपमा छनौट गरेको अधिकांश खेलाडीहरु ‘मेडिकल टेष्टमा फेल’

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय व्यापी रुपमा छनौट गरेको ३५ यु–१६ खेलाडीहरु मध्ये २५ जना मेडिकल टेष्टमा फेल भएका छन् । एन्फाले आगामी साफ यु–१६ च्याम्पियनसिप र एएफसी यु–१६ छनौटका लागि नेपालभरिबाट उत्कृष्ट ३५ खेलाडीहरुलाई छनौट गरेको थियो ।

वास्तविक उमेर परिक्षण

एन्फाले खेलाडीहरु छनौट गर्दा कुनै किसिमको सहमति र सम्झौता नगर्ने स्पष्ट पारेको छ । एएफसीले यसअघि नै नेपाललाई बढी उमेरका खेलाडी मैदानमा उतारेपछि भारी जरिवाना तिराएको नमिठो इतिहास पनि छ ।

एन्फाले उमेर परिक्षणका लागि तीन चरणलाई आधार मानेको थियो । पहिलो, सम्बन्धित खेलाडीका अभिभावकले बुझाएको जन्मदर्ता प्रमाणपत्र । परिवारबाट जन्मदर्ता प्रमाणपत्र प्राप्त गरेपछि मात्र एन्फाका प्रशिक्षकहरुले खेलाडी छनौट प्रक्रिया अगाडी बढाएका थिए ।

दोस्रो, बोन एज एसेसमेन्ट (हड्डी उमेर मुल्यांकन), जसअनुसार हात र नाडीको रेडियोग्राफी गरेर सामान्यतया बोन एजको सही उमेर परिक्षण गरिन्छ । आश्चर्यको कुरा त, सोही बोन एज टेष्ट गर्दा २५ खेलाडीहरु बढी उमेरका पाइए ।

तेस्रो चरणको उमेर छनौट एमआरआई हो । गोलनेपालका अनुसार अब उमेर समूहका प्रतियोगिताहरुमा नेपालबाट बढी उमेरका खेलाडीहरु मैदानमा उतार्ने सम्भावना निकै कम छ ।

गलत जन्मदर्ता प्रमाणपत्र

नेपालमा प्रायः जसो नेपाली अभिभावकहरुले खेलाडी छनौटका बेला नक्कली जन्मदर्ता प्रमाणपत्र पेश गर्ने गरेको पाइएको छ । त्यति मात्र नभएर नेपाल सरकारका सम्बन्धित निकायले पनि मौखिक रुपमा भनेकै भरमा जन्मदर्ता प्रमाणपत्र बनाइदिने गर्छन् ।

उता एन्फाले खेलाडीहरुको अनुहार र शारीरिक बनावट हेरेकै भरमा खेलाडीहरुको उमेर पुष्टी गर्न नसकिने स्पष्ट पारेको छ । एन्फाले पहिलो चरणमा खेलाडीका अभिभावकहरुले उपलब्ध गराएको कागजपत्रकै आधारमा छनौट प्रक्रिया पूरा गरेको थियो ।

अब एन्फाले के गर्ला ?

एन्फाका अनुसार ती बढी उमेरका खेलाडीहरुलाई फिर्ता पठाइदिने बताएको छ । यद्यपि एन्फाले बँचेका सात खेलाडीहरुलाई भने राख्ने पनि बताएको छ । त्यस्तै देशव्यापी रुपमा यु–१३ छनौटमा फालिएका खेलाडीहरुलाई एन्फाले फेरि छनौटका लागि बोलाउने बताएको छ । त्यति मात्र नभएर नक्कली प्रमाणपत्र उपलब्ध गराउने खेलाडीका अभिभावकहरुलाई कारवाही गर्ने अधिकार पनि एन्फासँग छ ।

अबको बाटो…

फुटबल बुझेका धेरैको बुझाई छ, एन्फाले खेलाडी छनौट गर्दा अपनाउने यो तीन चरणको छनौट प्रक्रियामा कुनै किसिमको सम्झौता र सहमति नगरोस् । तत्कालका लागि हार्नु नै ठिक तर भविष्यका लागि राम्रो र भरपर्दा खेलाडी छनौट गर्नु एन्फाको मुख्य दायित्व र जिम्मेवारी पनि हो ।


प्रतिक्रिया दिनुहोस

Loading...