बेलबारी एफसी, मोरङ जिल्ला लिग च्याम्पियन

मोरङ (खेलदैनिक) । कडा प्रतिस्पर्धाका बीच बेलबारी एफसीले मोरङ जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा बेलबारीले सम्राट स्पोर्टिङ क्लब, बिराटनगरलाई प्रतिस्पर्धात्मक फाइनल खेलमा १–० ले हरायो ।

लेटाङ ३ स्थित सनराइज युनाइटेड क्लबको खेलमैदानमा भएको फाइनल भिडन्तमा बेलबारीका लागि म्यान अफ द फाइनल समेत घोषित सुसन लामाले निर्णायक गोल गरे । यो जितसँगै बेलबारीले प्रदेश १ लिग छनौट खेल्ने पक्का भएको छ । बिजेता बनेको बेलबारीले उपाधिसहित नगद ३० हजार हात पार्यो भने उपविजेता सम्राटले १५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा पराजित सम्राटका कृपाकान्त थारु उत्कृष्ट खेलाडी घोषित भए । मोरङ जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा कुल १४ टोलीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी ६ टोलि रेलिगेसनमा पनि परेका छन ।


प्रतिक्रिया दिनुहोस

Loading...