एथलेटिक ट्रेनर र राष्ट्रिय फुटबल टोलीका खेलाडीबीच चर्को विवाद

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय फुटबल टोलीका एथलेटिक ट्रेनर विवेक विक्रान्त अधिकारी र सिनियर गोलरक्षक किरण चेम्जोङबीच विवाद भएको कुरा विभिन्न सञ्चारमाध्यमहरुले बाहिर ल्याएका छन् । नेपालन्युजमा प्रकाशित खबरअनुसार अधिकारी र चेम्जोङबीच कडा अभ्यासको विषयमा चर्को विवाद भएको बताइएको छ ।

यसबारे टिम म्यानेजर मधुसुदन उपाध्यायसँग बुझ्न खोज्दा उनी भन्छन्, “विवेक र किरण विवादमा उत्रिएको कुरा मैले पनि थाहा पाएँ । हामीले वास्तवमा के भएको हो भन्नेबारे बुझ्न सिसिटिभी फुटेज निरीक्षण गरिरहेका छौं । महासचिव इन्द्रमान तुलाधर हाल भुटानमा छन् । उहाँ आएपछि हामीले यसबारे अनुसन्धान गर्नेछौं ।”

उता व्यक्तिगत कारण जनाउँदै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन स्वीडेनमा छन् । यद्यपि सहायक प्रशिक्षक किरन श्रेष्ठ र एथलेटिक ट्रेनर विवेकले राष्ट्रिय फुटबल टोलीको अभ्यास सत्र आइतबारदेखि शुरु गरेका थिए ।

मिडिया रिपो्र्टकाअनुसार एथलेटिक ट्रेनर विवेकले आउँदो फिफा विश्वकपको छनौट खेलका लागि पहिलो दिनबाटै कडा अभ्यासको शुरुवात गरेका थिए । जुन निर्णय खेलाडीहरुलाई मन परेको थिएन । खासगरी किरन चेम्जोङले यसबारे प्रतिवाद गरेका थिए ।

स्मरणीय छ, किरणले माल्दिभ्सको लिग च्याम्पियन टिसी स्पोर्टससँग समय मै रिर्पोटिङ नगरेपछि क्लबले उनीसँगको सम्झौता बीचैमा रद्द गरेको थियो । त्यसैले पनि किरण हाल नेपाल मै छन् ।

उता नेपाली फुटबललाई योगदान दिने भन्दै अमेरिकाबाट स्वदेश फर्किएका एथलेटिक ट्रेनर अधिकारीले यसबारे स्पष्टोक्ति दिंदै भनेका छन्, “मैले खेलाडीहरुको परिक्षणकै लागि पहिलो दिनको अभ्यास सत्र कार्डियोबाट शुरु गरेको थिएँ । अभ्यासका लागि प्रत्येक दिन खेलाडीहरुको लागि महत्वपूर्ण हुन्छ । चाहे त्यो पहिलो दिन होस वा अन्तिम दिन ।

मैले मुख्य प्रशिक्षक कालिनको निर्देशन बमोजिम नै पहिलो दिनको अभ्यास कार्डियो एक्सरसाईजबाट शुरु गरेको थियो । तर, त्यो अभ्यास सत्रको पहिलो दिन भन्दै खेलाडीहरुले सो एक्सरसाईज गर्न मानेनन् । किरण त्यो दिन उपस्थित थिएनन् । प्रशिक्षक कालिनले मलाई कडाईका साथ खेलाडीहरुको फिटनेसलाई ध्यान दिन निर्देशन दिएका छन् । साथै प्रशिक्षक कालिनले केवल फिट खेलाडीहरुलाई मात्र राष्ट्रिय टोलीमा पार्ने स्पष्ट पारिसकेका छन् ।

त्यसको भोलीपल्ट किरनले मलाई खेलाडीहरुको टेष्ट लिएको बारेमा सोधे । मैले उनलाई खेलाडीहरुको फिटनेस जाँच गरेको र त्यो टेष्ट नभएको बताएँ । त्यसपछि किरणले त्यस्तो अभ्यास आफ्नो पूर्व क्लबहरुले पनि पहिलो दिनमा नगर्ने गरेको बताए । त्यसपछि मैले उनलाई स्पष्ट पार्दै भनेको थिएँ कि, खेलाडीहरु शुरुवातदेखि नै फिट हुनुपर्छ । मैले अमेरिकामा विश्वकप खेलेका खेलाडीहरुसँग पनि सँगै काम गरेको थिएँ । त्यहाँ पनि मैले यस्तै अभ्यास गराउने गरेको थिएँ ।

त्यसपछि किरनले एक्कासी हात माथि गरे, पिटुला जस्तो गरी । क्यान्टिन (घट्ना भएको स्थल) मा अन्य सिनियर खेलाडीहरु पनि थिए । मैले हातमा चिया कप समातेको थिएँ । सहायक प्रशिक्षक किरन श्रेष्ठ पनि त्यहि थिए । किरनको त्यो उग्ररुप पछि म क्यान्टिनबाट बाहिर निस्किन प्रयास गरेँ । त्यसपछि किरनले स्कुलमा बालबालिकाहरुलाई होच्याएँजस्तो गरेर आफ्नो हातले मेरो गाला समाए । उनको त्यो व्यवहार मैले सहन सकिन ।

त्यसपछि मैले आफ्नो आत्मरक्षाका लागि उनलाई हातले धकेलेँ । मैले समातिरहेको चिया किरणमाथि पनि पोखियो । क्यान्टिनमा सिसिटिभी जडान गरिएको छ । यो घट्ना पक्कै पनि त्यहाँ कैद छ होला । त्यो सिसिटिभी फुटेजले घट्नाबारे पक्कै पनि स्पष्ट पार्नेछ ।

त्यसपछि मैले प्राविधिक कमिटीका अध्यक्ष कृष्ण थापालाई पनि यसबारे जानकारी गराएँ । साथै मैले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पनि यसबारे जानकारी गराएँ । अध्यक्ष शेर्पाले मलाई मसँग पछि कुरा गर्ने बताए ।

हिंजो मैले घट्नाबारे लिखित स्पष्टोक्ति दिन एन्फाद्वारा पठाइएको पत्र प्राप्त गरेँ । त्यो पत्र २२ जना खेलाडीहरुले हस्ताक्षर गरेको पत्र थियो । म निश्चय पनि एन्फालाई जवाफ दिन्छु । अमेरिकाबाट म रमाइलो गर्न नेपाल फर्किएको होइन । बरु देशलाई केही दिन फर्किएको हुँ । अध्यक्ष शेर्पाले मलाई हिंजो फोन गरेर मैले खेलाडीहरुमाथि नराम्रो बेबहार गरेको बताए, जुन सत्य होइन । मैले यसबारे अध्यक्ष शेर्पासँग स्पष्ट पार्न प्रयास गरे तर उनले फोन राखिदिए ।”

एथलेटिक ट्रेनर अधिकारीले अगाडी भन्छन्, “मलाई लाग्छ खेलाडीहरुले राष्ट्रिय टोलीमा नपर्ने डरले टेष्टमा सहभागिता जनाउन खोजेका छैनन् । उता मुख्य प्रशिक्षक कालिनले पनि फिट खेलाडीहरुलाई मात्र टोलीमा पार्न बताईसकेका छन् ।”


प्रतिक्रिया दिनुहोस

Loading...