एएफसी कप : मनाङको प्रतिष्ठाको भिडन्त आज

काठमाडौं (खेलदैनिक) । एएफसी कपमा फितलो प्रदर्शन गर्दै समूह चरणबाट बाहिरिसकेको नेपाल लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले आज अन्तिम खेलमा चेन्नईनको सामना गर्दैछ ।

समूह ई मा रहेको मनाङले ५ खेलबाट केवल २ अंक जोडेको छ र आज एन्फा कम्प्लेक्समा ४:१५ बजे इण्डियन सुपर लिग क्लब चेन्नईन एफसीको सामना गर्दैछ । उता चेन्नईन भने ८ अंकका साथ दोस्रो स्थानमा छ र उसको इन्टर जोन प्ले अफ सेमिफाइनल्स खेल्ने सम्भावना कायम छ ।

खेलको पूर्वसन्ध्यामा मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङ र कप्तान बिराज महर्जनले पनि आजको खेलमा आफू अनुकुल नतिजा निकाल्दै प्रतियोगिता सुखद रुपमा समापन गर्न चाहेको बताइसकेका छन् ।

यद्यपि चेन्नईन विरुद्धको अहमदाबादमा भएको पहिलो अवे खेलमा मनाङले २–० को हार बेहोरेको हुँदा आजको खेलमा मनाङले आफू अनुकुल नतिजा निकाल्न कडा मेहनत र सुधारिएको प्रदर्शन गर्नुपर्ने धेरैको बुझाई छ ।

समूह एफ मै मनाङ र चेन्नईन बाहेक ढाका अवाहानी र मिनर्वा पञ्जाब रहेका छन् । ५ खेलबाट १० अंक जोडेको ढाका शिर्ष स्थानमा छ भने ५ अंक जोडेको पञ्जाब तेस्रो स्थानमा छ र मनाङसँगै समूह चरणबाट बाहिरिएको छ ।

आज अन्तिम खेलका रुपमा ढाका र पञ्जाब पनि गुवाहाटीमा भिड्दै छन् । जुन पञ्जाबका लागि प्रतिष्ठाको भिडन्त हुनेछ भने सो खेलमा ढाकालाई आफु अनुकुल नतिजा निकाल्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...