प्रदेश १ लिग छनौट असार दोस्रो सातादेखि

मोरङ (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा प्रदेश १ लिग छनौट यहि असार १६ गतेदेखि शुरु हुँदैछ । कुल १४ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको खेलहरु गाईघाट (उदयपुर), धरान (सुनसरी) र इलाम गरी तीन स्थानहरुमा हुनेछन् ।

गाईघाटमा मोरङ, खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुंगाले प्रतिस्पर्धा गर्नेछन् भने धरानमा तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा र सुनसरीले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै इलाममा भने झापा, पाँचथर, इलाम र ताप्लेजुङ भिड्ने छन् ।

प्रत्येक समूहको शिर्ष दुई टोली गरी कुल ६ टोलीहरुले शहिद मैदान, बिराटनगरमा हुने अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चरणका खेलहरुको मिति भने अझै तोकिएको छैन ।

प्रतियोगिताको विजेताले ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थानदेखि छैठौं स्थान हासिल गर्ने टोलीहरुले जनही ७५–७५ हजार हात पार्नेछन् । साथै प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार हात पार्नेछ ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकहरुले जनही २५–२५ हजार प्राप्त गर्नेछन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख हात पार्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

गोलनेपालका अनुसार एन्फाले तयारी खर्चवापत सबै टोलीहरुलाई जनही ५०–५० हजार प्रदान गर्नेछ । साथै १५ थान फुटबल पनि उपलब्ध गराउने पत्रकार सम्मेलनमा बताइयो । साथै सहभागी टोलीहरुलाई खाना र आवास खर्च वापत एक खेलाडीलाई १ हजारका दरले प्रत्येक टोलीका २० सदस्यहरुलाई सो रकम उपलब्ध गराइने पनि बताइयो ।

गोलनेपालका अनुसार प्रतियोगिताको लागत १ करोड ३३ लाख रहने बताइएको छ । जसमा प्रदेश १ को सरकारले १ करोड उपलब्ध गराउनेछ भने ३३ लाख एन्फाले उपलब्धध गराउनेछ ।

त्यस्तै प्रतियोगिता संयोजक तथा एन्फाका प्रवक्ता किरन राईले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न विभिन्न कमिटि गठन गरिएको समेत बताए । साथै प्रवक्ता राईले प्रदेश १ मुख्यमन्त्री कप पनि आगामी भाद्र महिनामा आयोजना गरिने खुलासा गरे ।


प्रतिक्रिया दिनुहोस

Loading...