प्रतियोगिता सम्पन्न भएको चार महिना बित्दा पनि खर्च नपाएको स्थानीय महिला फुटबल टोलीको गुनासो

सुनसरी (खेलदैनिक) । गत बर्षको फागुनमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपविजेता टोली माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब, चतरा, सुनसरीले पाउनुपर्ने आवश्यक खर्च चार महिना बित्दा पनि नपाएको खबर बाहिर आएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ मेचिनगर, झापाले २०७५ फागुन ५ गतेदेखि १० गतेसम्म आयोजना गरेको अन्तर्राष्ट्रिय आमन्त्रण महिला नकआउट फुटबल प्रतियोगितामा सहभागी माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा, सुनसरीलाई सेमिफाइनल र फाइनल खेलमा आतेजाते यातायात खर्च बापत दिइने ३० हजार प्रतियोगिता सम्पन्न भएको चार महिना बितिसक्दा पनि प्राप्त नभएको क्लबका अध्यक्ष सुर्य तूम्बाहाङ्फेले बताए । उक्त महिला फुटबल प्रतियोगितामा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब उपविजेता समेत भएको थियो ।

माउन्ट एभरेष्टका अध्यक्ष तुम्बाहाङफेका अनुसार सेमिफाइनल गेम जिते पछि आयोजकले उक्त दिनको यातायात खर्च अब हुने फाइनल खेल खेल्न आउदा दिन्छौं भनेको बताए । त्यही आशमा फाइनल खेल खेल्न गएको र फाइनल सकिए पछी सेमिफाइनल तथा फाइनल म्याचको पैसा भोलीपल्ट गाडीमा पठाइ दिन्छु भनी आयोजक कमिटीका कर्ण मगर भनेको बताए ।

अध्यक्ष तुम्बाहाङ्फेका अनुसार उक्त खर्च माग्दा आयोजकका कर्ण मगरले कहिले आइएमई र कहिले गाडीमा पठाईदिन्छु भन्दै चार महिना झुलाएको बताए । कुराकानीका क्रममा तुम्बाहाङ्फे भन्छन्, “आयोजक कमिटीका कर्ण मगरले गेम सकिएको भोलि पल्ट काकडभिट्टा आउनु भने, यतै पैसा दिन्छौ भने । वहाले भने अनुसार नै हामीले पनि क्लबका सदस्यलाई काकडभिट्टा पठाएऔ । फेरि दुई साता पछि काकडभिट्टा आउनु भने त्यहि अनुसार पैसा लिन मान्छे फेरि पठाइयो । दुख लाग्दो कुरा पटक–पटक दुई चोटि नै जादा रित्तो फर्किनु पर्यो ।”

त्यति मात्र नभएर फेरि पनि पटकपटक भन्दा यहि असार ९ गते सोमबार पैसा पठाई दिने भनिएको तर आयोजक सँग यस सम्बन्धमा सम्पर्क गर्न खोज्दा आयोजकको मोबाईल नै स्विच अफ रहेको उनको गुनासो थियो । साथै अध्यक्ष तूम्बाहाङफेले आफूहरुले पटक–पटक लिनुपर्ने रकम पनि दिन नखोजे आफूहरुले प्रहरी प्रशासनलाई गुहार्ने समेत चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...