एपिएफका रावल सर्वोत्कृष्ट खेलाडी

गाईघाट (खेलदैनिक) । शनिबार सम्पन्न छैठौं उदयपुर गोल्डकपको बिजेता नेपाल एपिएफ क्लबका राजेन्द्र रावल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सर्वोत्कृष्ट खेलाडी बनेका रावलले ५० हजार नगद हात पारे ।

त्यस्तै एपिएफका लागि निर्णायक गोल गरेका श्याम नेपाली फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार प्राप्त गरे । स्मरणीय छ, शनिबार भएको फाइनल भिडन्तमा एपिएफले गोर्खा ब्वाईज क्लब, रुपन्देहीलाई १–० ले हराएको थियो ।

त्यसैगरी अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक एपिएफका अमृत चौधरी घोषित भए भने उत्कृष्ट डिफेन्डर गोर्खा ब्वाईजका पेपे बने । उत्कृष्ट मिडफिल्डर गोर्खा ब्वाईजका नितिन थापा मगर घोषित उत्कृष्ट फरवार्डको पुरस्कार एपिएफका नविन लामाले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक एपिएफ कै सुदिप श्रेष्ठ घोषित भए । उदयीमान खेलाडी आयोजक उदयपुरका सुदिप श्रेष्ठ घोषित भए भने प्रतियोगिता भरि कुल ३ गोल गरेका गोर्खा ब्वाईजका फोफोनाले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५–१५ हजार हात पारे ।


प्रतिक्रिया दिनुहोस

Loading...