उदयपुर गोल्डकप : आयोजकलाई निरीह बनाउँदै गोर्खा ब्वाईज फाइनलमा

गाईघाट (खेलदैनिक) । प्रभावशाली जितका साथ गोर्खा ब्वाईज क्लब, रुपन्देही जारी रमपम छैठौं उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा गोर्खा ब्वाईजले आयोजक उदयपुर–११ माथि ४–१ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।

गाईघाट स्थित थरुहट रंगशालामा भएको खेलको तेस्रो मिनटमै सुशिल कुमार यादवको गोलबाट गोर्खाले शुरुवाती अग्रता लिएको थियो । त्यस्तै १८औं मिनटमा डेनिलले गोल गर्दै गोर्खाको अग्रता दोब्बर पारे । लगतै २२औं मिनटमा फोफोनाले गोर्खा ब्वाईजका लागि तेस्रो गोल गरे ।

उता दोस्रो हाफको ७९औं मिनटमा उदयपुरका लागि सुनिल खड्काले एक गोल फर्काए तापनि घरेलु टोलीले त्यो गोलको खुशीलाई धेरैबेर मनाउन सकेन । खेलको ८२औं मिनटमा फोफोनाले नै व्यक्तिगत दोस्रो तथा गोर्खा ब्वाईजका लागि चौथो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे ।

खेलमा गोर्खा ब्वाईजका पे पे म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार प्राप्त गरे । गोर्खा ब्वाईजले फाइनलमा अब असार ७ गते शनिबार विभागीय टोली एपिएफ क्लबको सामना गर्नेछ ।

उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...