ढाकालाई हराउनेमा विश्वस्त छन् मनाङ प्रशिक्षक गुरुङ

काठमाडौं (खेलदैनिक) । एएफसी कपतर्फ समूह चरणको ढाका अवाहानी विरुद्ध बुधबार भिड्न लागेको मनाङ मस्र्याङ्दी क्लबका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले ढाकालाई हराउनेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । समूह ई मा रहेको मनाङले एएफसी कपतर्फ समूह चरणको पाँचौं खेलमा बुधबार ढाकासँग बंगबन्धु नेशनल स्टेडियममा भिड्दैछ ।

खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक गुरुङले भने, “हामीले ढाका विरुद्ध घरेलु मैदानमा राम्रो खेलेका थियौं । तर पनि हामी पराजित हुन पुग्यौं । हामीले अवसरलाई सदुपयोग गर्न सकेनौं । ढाकालाई हामीले भोली हराउनेमा विश्वस्त छौं ।

हामीले प्राकृतिक घाँसे मैदानमा अभ्यास गरेका छौं । भोली हामी उत्कृष्ट प्रदर्शन गर्नेमा आत्मविश्वासी पनि छौं । बरु यहाँ निकै गर्मी हुने भएकोले हामीलाई यहाँको मौसमले समस्यामा पार्न सक्छ ।”

उता मनाङका कप्तान विराज महर्जनले पनि प्रशिक्षक गुरुङको भनाईसँग सहमति जनाए । बिराज भन्छन्, “हामी यहाँ (ढाका) आउन पाएकोमा निकै खुशी छौं । प्रशिक्षकले भने जस्तै हामीले राम्रो तयारी र अभ्यास गरेका छौं । हामी आफ्नो तर्फबाट सक्दो राम्रो खेल्नेछौं र सकरात्मक नतिजा हासिल गर्नेछौं ।”

साथै कप्तान विराजले ढाका बलियो र राम्रो टोली भए तापनि आफूहरुले पनि हाल राम्रो प्रदर्शन गरिरहेको चर्चा गरे । यद्यपि उनले पनि टोलीले प्राप्त अवसरहरुलाई सदुपयोग गर्न नसकेको स्वीकारे र त्यसलाई भोलीको खेलमा सुधार गर्ने पनि बताए ।

समूह ई मा चार खेलबाट २ अंक जोडेको मनाङ पुछारमा छ भने ७ अंक जोडेको ढाका दोस्रो स्थानमा छ । उता समान ७ अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा चेन्नईन शिर्ष स्थानमा छ । त्यस्तै चार अंक जोडेको मिनर्वा पञ्जाब तेस्रो स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...