सी डिभिजन छनौट : एक्टिभको पोष्टमा झापाको आठ गोल

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगितातर्फ दोस्रो चरणको खेलमा झापा–११ एफसीले फराकिलो जितका साथ सेमिफाइनलमा यात्रा तय गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको दोस्रो खेलमा झापाले एक्टिभ स्पोर्टस क्लबलाई ८–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

झापाका लागि खेलको १२औं मिनटमा सौरभ लिम्बुले पहिलो गोल गरे । त्यस्तै पहिलो हाफकै इन्जुरी समयमा सन्जित राईले झापाको त्यो अग्रता दोब्बर पारे । दोस्रो हाफको ५३औं र ७७औं मिनटमा श्याम मुर्मुले झापाका लागि लगातार दुई गोल गर्दै त्यो अग्रता ४–० पुराए ।

खेलको ५८औ मिनटमा एक्टिभका राजन श्रेष्ठले आत्मघाती गोल गर्न पुग्दा झापाले त्यो अग्रता थप ५–० पुराउन सफल भएको थियो । एकतर्फी नतिजा हासिल गरेकों झापाका लागि ८२औं मिनटमा सरोज दर्जी कार्कीले छैठौं गोल गरे भने ८८औं मिनटमा रोहन कार्कीले साँतौं गोल गरे ।

त्यसैगरी इन्जुरी समयमा सन्जिव गिरीले झापाका लागि आठौं गोल गर्दै टोलीको शानदार जित पक्का गरे । उता पराजित एक्टिभका लागि ७५औं मिनटमा आर्यन तामाङले एक मात्र सान्त्वना गोल गरेका थिए । झापाले अब निर्णायक भिडन्तमा सरस्वतीनगर स्पोर्टस् क्लबको सामना गर्नेछ ।

पहिलो चरण पार गरेर आएका १२ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष टोली सी डिभिजनमा बढुवा हुनेछन् ।

समूह ए तर्फ सरस्वतीनगर स्पोर्टस क्लब, इमाडोल युवा क्लब, झापा–११ एफसी र एक्टिभ स्पोर्टस् क्लब रहेका छन् भने समूह बी तर्फ च्याम्पियन ब्वाईज, चर्च ब्वाईजन युनाइटेड, सुन्धारा युवा क्लब र चेवाहिल युवा क्लब रहेका छन् ।

त्यसैगरी समूह सी मा बागमती युवा क्लब, बिरगंज युनाइटेड, टेमल एफसी र स्पोर्टस् एकेडेमी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...