उदयपुर गोल्डकप शुरु, एपिएफ सेमिफाइनलमा

उदयपुर (खेलदैनिक) । शनिबारदेखि शुरु रमपम छैठौं उदयपुर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबले बिजयी शुरुवात गरेको छ । थरुहट रंगशालामा भएको उद्घाटन खेलमा एपिएफले न्यु स्टार क्लब, सुनसरीलाई २–१ ले हराउँदै सेमिफाइनलमा समेत प्रवेश गर्यो ।

एपिएफको जितमा प्रविन स्याङतन र नविन लामाले गोल गरे । उता पराजित न्यु स्टारका लागि औरेल इनोमीले एक मात्र गोल गरे । खेलमा एपिएफका नविन लामा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ७ हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तरगत आइतबारको खेल आयोजक उदयपुर–११ र झापा–११ एफसीबीच हुने आयोजकले जनाएको छ । उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ ।

असार ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...