आयोजकलाई हराउँदै अभिषेक चर्च क्वाटरफाइनलमा

भरतपुर (खेलदैनिक) । अभिषेक चर्च, रजहर जारी हनामी पाँचौं चितवन च्याम्पियनसिप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रिक्वाटरफाइनलमा अभिषेक चर्चले आयोजक एभरेष्ट क्लब, चितवनलाई ३–२ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

भरतपुर स्थित प्रहरी तालिम केन्द्रमा भएको खेलमा आयोजक एभरेष्टले १५औं मिनटमै सबी गुरुङको गोलबाट शुरुवाती अग्रता बनाएको थियो । तर ४४औं मिनटमा प्रसन ढकालले आत्मघाती गोल गरेपछि अभिषेक चर्च खेलमा फर्किएको थियो ।

त्यस्तै दोस्रो हाफको ११औं मिनटमा शरद क्षेत्रीले अभिषेक चर्चका लागि दोस्रो गोल गरे । लगतै ६२औं मिनटमा सबी गुरुङले व्यक्तिगत दोस्रो तथा घरेलु टोलीका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए । यद्यपि खेलको अन्तिमतिर अजित गुरुङले तेस्रो तथा निर्णायक गोल गर्दै अभिषेक चर्चको जित सुनिश्चित गरे ।

खेलमा अन्तिम निर्णायक गोल गरेका अजित खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत शनिबारको पहिलो क्वाटरफाइनल खेल जुनियर पुलिस अफिसर्स कलेज, भरतपुर र फोर ब्रदर्श, गैंडाकोटबीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...