झापालाई हराउदै शेर्पा अन्तिम चारमा

(सुरज राना मगर,बुटवल, खेल्दैनिक)

हिमालयन शेर्पा क्लब बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गर्ने क्रममा उपाधिको प्रत्याशी रमपम झापा–११ लाई रोमाञ्चक १ का विरुद्ध २ गोलले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

खेलको ३७ औं मिनेटमा चेतन कुमार थापाको गोलमा शुरुवाती अग्रता लिएको शेर्पाले त्यसलाई धेरै बेर जोगाउन सकेन । गोल खाए लगत्तै झापाले पहिलो हाफकै ४० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याई पु¥याएको थियो । उसका लागि सन्जोग राईले हेडमार्फत उत्कृष्ट गरे ।

त्यसपछि खेलको अन्तिम समयसम्म दुवैतर्फबाट केही गोलको प्रयास भए तापनि त्यो सफल हुन सकेन । आफ्ना महत्वपूर्ण खेलाडीद्वय कर्ण लिम्बु र विशाल राई बिना नै मैदानमा उत्रिएको झापाले गोलको केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । त्यस्तै शेर्पाले पनि आफ्ना मह्त्वपूर्ण खेलाडी मान बहादुर तामाङ, विश्वास श्रेष्ठ बिना नै उत्रिए पनि खेललाई आफ्नो पक्षमा पार्न सफल भयो । यी खेलाडीहरु अहिले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छन् ।

निर्धारित समय १–१ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको अन्तिमतिर १ सय १० औं मिनेटमा शेर्पाका लागि विदेशी खेलाडी एलेक्सले रोमाञ्चक र निर्णायक गोल गर्दै शेर्पाको जित सुनिश्चित गरे । शनिबारको खेलमा निर्णायक गोल गरेका शेर्पाका एलेक्स म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत आइतबारको खेल आयोजक अग्नि रुपन्देही–११ र धरान फुटबल क्लब, सुनसरीबीच हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोक पु्नले जानकारी दिनुभयो ।

प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ। विभागीय टिमसहित १० टिम सहभागि प्रतियोगितामा विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५/१५ हजार तथा उत्कृष्ट कोचलाई नगद २० हजार रुपैयाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा अग्नी रुपन्देही ११, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल आर्मी, सिएमजी संकटा क्लव, धरान फुटवल क्लव, एचएम हिमालयन शेर्पा क्लव, रमपम झापा ११, दिल्ली युनाईटेड एफसि र शेरे एफ सि क्यालिङगपोङको सहभागिता छ।

करिव ७५ लाख रुपैयाँको खर्च अनुमान गरिएको प्रतियोगितामा अग्नी सिमेन्टले प्रायोजकको रुपमा १५ लाख रुपैयाँ प्रदान गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस

Loading...